काठमाडौं – नेपाल पहिलो पटक एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। सन् २०१८ देखि एक दिवसीय क्रिकेट खेल्न थालेको नेपाल त्यसको पाँच वर्षपछि विश्वकपको ग्लोबल छनोटमा पुगेको हो।
ग्लोबल छनोटसम्म पुग्नको लागि नेपालको यात्रा सहज भने छैन। आईसीसीले भारतमा आउँदो अक्टोबर ५ देखि हुने विश्वकपको अघि आयोजना गरेको आईसीसी विश्वकप लिग २ मा नेपालले सानदार अन्त्य गरेपछि मात्र नेपाल त्यहाँसम्म पुग्न सफल भएको हो।
लिग २ कै दौरान पनि नेपालको बीचको केही खेलहरु भने विर्सनलायक छन्। खासरी अमेरिका भ्रमणपछि नेपालले नामिबिय र स्कटल्यान्डको सिरिजका एक खेलमा पनि जित निकाल्न सकेन।
त्यस्तो अवस्थामा नेपालले एक दिवसीय मान्यता नै गुम्ने हो कि भन्ने खतरा रह्यो। तर अन्तिमका १२ खेलमध्ये ११ खेलमा जित निकालेर नेपालले एक दिवसीय मान्यता मात्र जोगाएन नेपालले विश्वकप छनोटमा पनि स्थान बनायो। अब नेपालले आउँदो आइतबारबाट जिम्बाबेमा हुने विश्वकप छनोटको खेल खेल्दैछ।
प्रतियोगिताको पहिलो दिनको पहिलो खेलमा नै नेपालले आयोजक जिम्बावेको सामना गर्ने तालिका रहेको छ। नेपाल र जिम्बावेको खेल हरारे स्पोट्र्स क्लबको क्रिकेट मैदानमा हुनेछ।
नेपालले भोली जिम्वावेसँग खेल्दैछ। नेपालले पहिलो पटक टेस्ट देशसँग एकदिवसीय क्रिकेट खेल्न लागेको हो। यद्यपी यसअघि नेपालले जिम्वावेसँग ५० ओभरको लिस्ट ए भने खेलिसकेको छ। सन् २०१८ मा नेपालसँग एकदिवसीय मान्यता नभएको कारण सो खेलले लिस्ट ए को मान्यता पाएको थियो।
सो खेलमा नेपालले १ सय १६ रनको हार बेहोरेको थियो।
नेपालले जुन २० मा भने अमेरिकाविरुद्ध खेल्न तय छ। यो खेल आउँदो मंगलबार हरारेको टाकासिंगा स्पोट्स क्लबको क्रिकेट मैदानमा हुनेछ।
त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको सामना गर्नेछ। हरारे क्लबको मैदानमै हुने यो खेल भने आउँदा विहीबार हुने आईसीसीको तालिकामा उल्लेख छ।
त्यस्तै, छनोटको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ। टाकासिंगामा हुने यो खेल समूह चरणमा नेपालको अन्तिम खेल हुनेछ। सबै समूहबाट शीर्ष तीन क्लब सुपर सिक्सका लागि छनोट हुनेछन्।


