काठमाडौँः बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक घटेर बन्द भएको छ। यस दिन निजी क्षेत्रमाथि अख्तियारले अनुसन्धान गर्ने हल्लाले सेयर बजार प्रभावित भएको जानकारको अनुमान छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको दायरा फराकिलो पार्ने उद्देश्यले निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्ने योजना बनाएपछि निजी क्षेत्रसँगै सेयर बजार पनि तरंगित भएको हो।
यस दिन नेप्से परिसूचक ३३.८३ अंक घटेर २८३३.०३ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँबराबरको २ करोड ७ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा आएको सिन्धु विकास बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ९.४७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६१ करोड ८० लाख ४३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


