काठमाडौँः नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचना प्रणाली (इन्फर्मेसन सिस्टम)को अडिटको जिम्मा आरएसएम अल्फा प्राइभेट लिमिटेडले पाएको छ। नेप्सेले आज सूचना जारी गर्दै उक्त कार्यका लागि प्राप्त प्रस्तावहरूमध्ये प्राविधिक तथा आर्थिक प्रस्तावमा आरएसएम अल्फाले उच्चतम अंक प्राप्त गरेकोले सोही प्रस्ताव छनौट गरिएको जनाएको छ।
नेप्सेका अनुसार आरएसएम अल्फा प्राइभेट लिमिटेडले भ्याट सहित ४ लाख ५२ हजार ८ सय ५२ रुपैयाँ २ पैसामा इन्फर्मेसन सिस्टमको अडिट कार्य सम्पन्न गर्नेछ।
यसअघि नेप्सेले ४ वटा कम्पनीलाई प्राविधिक रूपमा योग्य ठहर गरेको थियो। प्राविधिक रूपमा योग्य ठहर भएका कम्पनीहरूमा एस.ए.आर. एडभाइजर्स प्राइभेट लिमिटेड, आरएसएम. अल्फा प्राइभेट लिमिटेड, ग्रीन टिक नेपाल प्राइभेट लिमिटेड र क्रिप्टोजेन नेपाल प्राइभेट लिमिटेड रहेका थिए।
यी कम्पनीहरूले पेश गरेका आर्थिक प्रस्ताव वैशाख २ गते दिउँसो १ बजे नेप्सेको कार्यालयमा खोलिएको थियो। प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कनमा आरएसएम अल्फाले उच्चतम अंक प्राप्त गरेपछि उक्त कम्पनीलाई छनौट गरिएको नेप्सेले जनाएको छ।


