काठमाडौँः नेपाली सेयर बजारमा नयाँ नीतिगत परिवर्तन लागू हुने भएको छ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सर्किट सम्बन्धी नयाँ व्यवस्था आगामी सोमबार, वैशाख ७ गतेदेखि कार्यान्वयनमा ल्याउने भएको हो।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार सञ्चालक समितिको निर्णयपछि ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ अन्तर्गत संशोधित प्रावधान लागू गर्न लागिएको हो। ‘हिजोको नेप्से सञ्चालक समितिको बैठकले यो निणय गरेको छ । अब वैशाख सात गतेदेखि सर्किट सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा आउछ,’ प्रवक्ता पराजुलीले भने।
यो व्यवस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भइसकेको छ।
मूल्य घटबढ सीमा बढ्यो
नयाँ व्यवस्थासँगै अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकै दिनमा अधिकतम १५ प्रतिशतसम्म घटबढ हुन पाउनेछ। यसअघि दैनिक मूल्य सीमा १० प्रतिशतमा सीमित थियो। यस परिवर्तनले बजारलाई अझ सक्रिय र लचिलो बनाउने अपेक्षा गरिएको छ।
प्री–ओपन सेसनमा पनि सहजता
बजार खुल्नुअघि हुने प्री–ओपन सेसनमा मूल्य घटबढ सीमा २ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याइएको छ। यसले सुरुआती मूल्य निर्धारणलाई अझ यथार्थपरक बनाउने विश्वास गरिएको छ।
सर्किट ब्रेकरमा दुई तह
समग्र बजार सूचक (नेप्से इन्डेक्स) मा अब दुई तहको सर्किट प्रणाली लागू हुनेछ । सूचक ५ प्रतिशतले घटबढ भएमा कारोबार १५ मिनेटका लागि रोकिने छ र त्यसपछि पुनः खुलेको बजारमा ८ प्रतिशत उतारचढाव पुगेमा दिनभरका लागि कारोबार बन्द हुने छ ।
यसअघि ४, ५ र ६ प्रतिशतका तीन तहका सर्किट ब्रेकर प्रचलनमा थिए।
बजारमा प्रभाव
नयाँ व्यवस्थाले बजारमा अस्थिरता बढ्न सक्ने भए पनि मूल्य खोज प्रक्रियालाई सहज बनाउने र तरलता बढाउने अपेक्षा गरिएको छ। बढ्दो लगानीकर्ता सहभागिता र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको नेप्सेको भनाइ छ।
सोमबारदेखि लागू हुने यो प्रणालीले नेपाली पूँजी बजारलाई थप गतिशील बनाउने र लगानीकर्तालाई नयाँ अवसर दिने विश्वास गरिएको छ।


