काठमाडौँः कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङले आज वैशाख ७ गते सोमबार बिहान सेयर बाँडफाँड गरेको हो।
कम्पनीले चैत्र २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता सेयर निष्काशन गरेको थियो। यस आईपीओमा कुल २७ लाख ८४ हजार ५१९ जनाको आवेदन परेको थियो, जसमध्ये २६ लाख ३५ हजार ६३४ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो।
मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको हो। यस प्रक्रियामा ६८ हजार ४७५ जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदकहरू सेयर पाउनबाट वञ्चित भएका छन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ १९ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो।


