काठमाडौं। निजी लगानीमा १८ मेगावाट क्षमताको सुप्रिम मध्य सेती जलविद्युत आयोजना बन्ने भएको छ। केसीज होटल एन्ड मल्टिपल इन्डष्ट्रिजले उक्त जलविद्युत आयोजना बनाउन लागेको हो।
आयोजना आगामी २०८७ असारसम्म सम्पन्न गर्ने लक्ष्य विकासकर्ता कम्पनीको छ। कम्पनीले विद्युत उत्पादन इजाजत (लाइसेन्स) का लागि विद्युत विकास विभागमा निवेदन दिएको छ। विभागले केसीज होटललाई लाइसेन्स दिन प्रक्रिया अघि बढाएको छ।
नदी प्रवाही (रन अफ दि रिभर) आयोजनाबाट वार्षिक १० करोड ९३ लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १४, २७, २९ र ३३ मा अवस्थित विजयपुर सेती नदीको पानीलाई उपयोग गर्दै नदी बिजुली उत्पादन गर्ने लक्ष्य छ।
आयोजनाको डिजाइन वहाव ४५.१४ घनमिटर प्रति सेकेन्ड र हेड ५० मिटर अग्लो रहनेछ। आयोजनाले बिजयपुर खोलामा सञ्चालन भइहेको विजयपुर दोस्रो जलविद्युत आयोजनाको टेलरेसको पानी र सेती नदीको बहाब उपयोग गरी विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ।
आयोजनाका मुख्य भौतिक संरचनाहरू महानगरपालिकामा अवस्थित सेती नदीको बाँया किनारमा बनाउने प्रस्ताव गरिएको छ।
आयोजनाका लागि आवश्यक पानी फर्काउन सेती नदीमा ९० मिटर लम्बाई र चार मिटर उचाईको बाँध निर्माण गरिने भएको छ। विजयपुर जलविद्युत आयोजनाको टेलरेसको पानीसमेत गरी कलेक्सन पोन्द्रमा पुर्याइनेछ।
कलेक्सन पोन्ड पश्चात पानीलाई दुई हजार ७७ मिटर लम्बाई भएको नहरमार्फत विद्युतगृहमा पुर्याइने भएको छ। विद्युतगृहमा तीनवटा टवाईनबाट बिजुली उत्पादन हुनेछ।
आयोजनाबाट उत्पादन हुने बिजुली साढे चार किलोमिटर लामो प्रसारण लाइनमार्फत लेखनाथ सवस्टेशनमा जोडिने कम्पनीले जनाएको छ।


