काठमाडौं। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा उल्लेख्य सुधार देखाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री र खुद नाफा दुवैमा सकारात्मक वृद्धि देखिएको हो।
विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १७ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत वृद्धि हो। अघिल्लो वर्षको चैत मसान्तसम्म कम्पनीको यस्तो आम्दानी १३ करोड ७ लाख रुपैयाँ मात्र थियो।
कम्पनीको खुद नाफामा पनि १३.८२ प्रतिशतको सुधार आएको छ। यस अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आम्दानीमा भएको वृद्धि र वित्तीय खर्चमा २३.३१ प्रतिशतले आएको कमीले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ।
वित्तीय सूचकहरूतर्फ, कम्पनीको प्रतिशेयर आम्दानी ३१ पैसाले बढेर २ रुपैयाँ ५६ पैसा कायम भएको छ। त्यसैगरी, प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा देखिएको छ।
हाल २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने अझै १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक छ। आम्दानी र नाफामा आएको यो सुधारले लगानीकर्ताहरूमा सकारात्मक आशा जगाएको छ।
