काठमाडौँः धितोपत्र बजारमा प्राविधिक र नीतिगत समन्वयको अभावले उत्पन्न अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन) विवाद समाधान नहुँदा गम्भीर असर देखिन थालेको छ। पछिल्ला समय दुई दर्जन कम्पनीका संस्थापक सेयरधनी प्रत्यक्ष प्रभावित भएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिले शुक्रबार सीडीएससीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेसँगै यो विवाद थप चर्चामा आएको हो। तर, नेप्सेले पठाएको पत्र पन्दाकले बुझ्न नमानेको नेप्से स्रोतले जानकारी दिएको छ।
‘नेप्सेबाट पत्र गईसकेको छ। तर, उँहाले पत्र बुझ्न मान्नु भएन, नेप्से स्रोतले नेपाल क्लिक्सलाई भन्यो’
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आईजीनसम्बन्धी व्यवस्था कुनै व्यक्तिगत निर्णय नभई संस्थागत रूपमा सञ्चालक समितिबाट पारित भएर आएको हो। उनले भने, ‘यो निर्णय संस्थागत रूपमा भएको हो, अब आउने नेतृत्वले यसलाई कसरी अघि बढाउनुहुन्छ भन्ने हेर्न बाँकी छ।’
२४ कम्पनीका संस्थापक सेयर डिम्याटमै अड्किए
आईजीन विवादका कारण हालै आईपीओ निष्कासन गरेका करिब २४ कम्पनीका संस्थापक सेयरधनीको सेयर प्रणालीमा देखिएको छैन। सेयर लगानीकर्ताको डिम्याट खातामा सेयर देखिए पनि ट्रेडिङ प्रणाली (टीएमएस) मा नदेखिदा लगानीकर्ता निरास छन्।
आईजीन विवादको अन्त्यतर्फ, एकल प्रणाली लागू हुने संकेत
विकास हाइड्रोपावर लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, पियोर इनर्जी लिमिटेड, सान्भी इनर्जी लिमिटेड, ट्रेड टावर लिमिटेड, बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडलगायतका कम्पनीका लगानीकर्तालाई बढी असर परेको छ।
आईजीन विवाद के हो?
आईजीन अर्थात् इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर कुनै पनि धितोपत्रको अन्तर्राष्ट्रिय पहिचान नम्बर हो। कुनै कम्पनीको सेयरलाई डिम्याट प्रणालीमा राख्न र दोस्रो बजारमा कारोबारयोग्य बनाउन यो आवश्यक हुन्छ।
नेपालमा हालसम्म एउटै कम्पनीको एउटै प्रकारको सेयरका लागि एउटै आईजीन प्रयोग हुँदै आएको थियो। तर सीडीएससीले पछिल्लो समय संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै आईजीन हुनुपर्ने प्रस्ताव अघि सारेपछि विवाद सुरु भएको हो।
सीडीएससीको तर्कअनुसार संस्थापक सेयरमा लक–इन अवधिका कारण अनधिकृत कारोबार रोक्न दोहोरो आईजीन प्रणाली आवश्यक छ। तर, नेप्सेले भने एउटै कम्पनीको एउटै प्रकारको सेयरलाई फरक–फरक पहिचान दिनु अन्तर्राष्ट्रिय अभ्यासविपरीत हुने भन्दै अस्वीकार गर्दै आएको छ।
प्रणालीगत रोकावट र नीति अस्पष्टता
सीडीएससीले नयाँ व्यवस्था लागू गर्न धितोपत्र बोर्ड (सेबोन) मा निर्देशिका परिमार्जनका लागि सिफारिस गरे पनि बोर्डले यसलाई प्राविधिक रूपमा विद्यमान प्रणालीमै समाधान गर्न सकिने भन्दै अस्वीकार गरेको स्रोतहरूले जनाएका छन्।
शेयर बजारमा आईजीन व्यवस्था छिट्टै कार्यान्वयन हुँदै, एकल कि दोहोरोबारे अझैँ द्विविधा
यस विषयमा लगानीकर्ता समूह, विशेषगरी जलविद्युत् क्षेत्रका प्रवद्र्धकहरूबीच मतभेद देखिँदै आएको छ। केहीले पारदर्शिता बढ्ने तर्क गर्दै दोहोरो आईजीनको समर्थन गरेका छन् भने अधिकांश प्रवद्र्धक एकल प्रणालीमै सहमत छन्।
लगानीकर्तामा बढ्दो असन्तोष
लगानीकर्ता समूहहरूले प्राविधिक कारण देखाएर अर्बौं रुपैयाँको सेयर रोकिँदा पूँजीबजारप्रति विश्वास घट्दै गएको बताएका छन्। ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले यो समस्याले लगानीकर्तामा मानसिक दबाब सिर्जना गरेको बताए।
उनका अनुसार २२ अर्ब रुपैयाँ बराबरको सेयर हाल प्रणालीमा अड्किएको छ। उनले भने, ‘एक प्राविधिक विवादका कारण हजारौँ लगानीकर्ता अन्योलमा परेका छन्। यसले लगानी वातावरणमै नकारात्मक प्रभाव पारेको छ।’
इप्पानले सीडीएससीलाई सबै ऊर्जा कम्पनीको संस्थापक सेयर अभौतिकीकरण गरी सूचीकरण गर्न आग्रह गर्दै पत्राचारसमेत गरेको छ।
सीडीएससीको स्पष्टिकरण
सीडीएससीले भने सेयर अभौतिकीकरण प्रक्रिया पूरा भए पनि ट्रेडिङ प्रणालीमा समावेश नभएको कारण समस्या आएको दाबी गरेको छ।
संस्थाका सीईओ प्रविन पन्दाकका अनुसार धितोपत्र बोर्डमा दुवै प्रकारका सेयर छुट्टै दर्ता भएकाले एकै बनाउँदा प्रणालीगत समस्या आउन सक्ने जोखिम छ।
सीडीएससीले सेयर दर्ता र क्रेडिट प्रक्रिया नियमअनुसार नै अघि बढाइएको तर टीएमएसमा समावेश गर्ने विषयमा नीतिगत स्पष्टता आवश्यक रहेको जनाएको छ।
बोर्डको अडान र नेतृत्व परिवर्तन
नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार पहिले नै यो विषयमा अध्ययन गरी संस्थापक र सर्वसाधारण सेयरलाई अलग आईजीन दिनु आवश्यक नरहेको निष्कर्ष निकालिएको थियो। तत्कालीन नेतृत्वले पनि यसलाई सैद्धान्तिक रूपमा अनावश्यक जटिलता भनेको थियो।
तर बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामापछि अलपत्र परेको छ। नयाँ अध्यक्ष आएपछि मात्र यस विषयले पुनः गति लिने अपेक्षा गरिएको छ।
विदेशी लगानीमासमेत असर
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि यस विवादप्रति चिन्ता व्यक्त गरेको छ। संघका अनुसार जबर्जस्ती दोहोरो आईजीन लागू भएमा विदेशी लगानी प्रभावित हुन सक्छ। नेपालको पुँजीबजारप्रति विश्वास घट्न सक्छ।
बजारमा संस्थापक सेयरलाई छुट्टै आईजीन दिनु लक–इन अवधि व्यवस्थापनका लागि आवश्यक भन्ने भ्रम फैलिएको छ।
तर, विज्ञहरूकाअनुसार लक–इन अवधि व्यवस्थापनका लागि अलग आईजीन आवश्यक छैन। विगतमा एउटै आईजीन भएका कम्पनीहरूमासमेत लक–इन अवधि सफलतापूर्वक लागू भएको उदाहरण छन्।
बजारमा बढ्दो अन्योल
लामो समयदेखि जारी यो विवादले नेपालको पुँजीबजारको विश्वसनीयतामा प्रश्न उठाएको छ। सूचीकृत भइसकेका कम्पनीका सेयरसमेत प्रणालीगत कारणले रोकिँदा लगानीकर्तामा निराशा बढेको छ।
विशेषज्ञहरूले नीति र प्राविधिक प्रणालीबीच समन्वय नहुँदा यस्ता समस्या दोहोरिने जोखिम रहेको चेतावनी दिएका छन्। उनीहरूका अनुसार तत्काल स्पष्ट नीति नआए बजार थप अस्थिर हुन सक्ने देखिन्छ।
आईजीन विवाद केवल प्राविधिक समस्या मात्र नभई नीति, संरचना र संस्थागत समन्वयको ठूलो चुनौती बनेको छ। नेप्से, सीडीएससी र धितोपत्र बोर्डबीच स्पष्ट समझदारी नहुँदा करिब दुई दर्जन कम्पनीका लगानीकर्ता प्रत्यक्ष प्रभावित भइरहेका छन्।
अब सबैको ध्यान नयाँ नेतृत्व र नीतिगत निर्णयतर्फ केन्द्रित भएको छ, जसले नेपालको पुँजीबजारलाई स्थिर र विश्वसनीय दिशातर्फ लैजान सक्छ।


