काठमाडौँ: नेपाल राष्ट्र बैंकले लामो समयदेखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउँदै प्रशासन सेवातर्फका आठ जना उपनिर्देशकलाई निर्देशक (अधिकृत प्रथम श्रेणी) पदमा बढुवा गरेको छ। बैंकले कार्यसम्पादन मूल्यांकनका आधारमा रिक्त पदहरूमा बढुवा गरेको जनाएको छ। यससँगै अन्य तहका रिक्त पदहरूमा पनि बढुवा तथा पदपूर्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
निर्देशक पदमा बढुवा हुनेहरूमा सम्झना ढकाल (भुक्तानी प्रणाली विभाग), नविना ढकाल (गैरबैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग), संजीवकुमार झा (विदेशी विनिमय व्यवस्थापन विभाग), सुमन न्यौपाने (गभर्नरको कार्यालय), पुष्पा अधिकारी (बैंकिङ विभाग), मोहन पुडासैनी (सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग), कमलप्रकाश कालाथोकी (आन्तरिक लेखापरीक्षण विभाग) र शिखा अधिकारी (रेग्मी) (वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा) रहेका छन्।
बैंकले निर्देशक तहको बढुवा टुङ्गयाएसँगै अब अन्य श्रेणीका कर्मचारीहरूको बढुवालाई पनि तीव्रता दिने तयारी गरेको छ। यसअघि निर्देशक ८, उपनिर्देशक २०, सहायक निर्देशक १३ र सहायकबाट प्रधान सहायक ४५ पदको बढुवा लामो समयदेखि रोकिएको थियो।
बढुवा प्रक्रिया अवरुद्ध भएपछि कर्मचारीहरूले असन्तुष्टि जनाउँदै राष्ट्र बैंकको ७१औँ वार्षिक उत्सव कार्यक्रमसमेत बहिष्कार गरेका थिए। त्यसपछि बढुवा प्रक्रिया अगाडि बढाइएपछि केहीले कर्मचारी आन्दोलनकै दबाबमा निर्णय गरिएको टिप्पणी गरेका थिए।
तर, बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले यस्तो धारणा गलत भएको स्पष्ट पारेका छन्। उनका अनुसार बढुवा प्रक्रिया कर्मचारीहरूको धर्ना वा विरोधका कारण मात्र नभई प्रशासनिक प्रक्रियाअनुसार अन्तिम चरणमा पुगेकाले सम्पन्न गरिएको हो।
उनले भने, “कर्मचारी साथीहरूले धर्ना दिएका कारण मात्र यो बढुवा भएको होइन। विरोध नगरेको भए पनि हामीले यसै समयमा बढुवा गथ्र्यौं, किनकि प्रक्रिया अन्तिम चरणमा पुगिसकेको थियो।” उनले थपे, “प्रशासनिक प्रक्रियाका आफ्नै विधि र समयसीमा हुन्छन्, जुन पूरा गर्नैपर्छ।”
पौडेलका अनुसार केही प्राविधिक कारण तथा डेपुटी गभर्नरहरूको नियुक्तिमा भएको ढिलाइका कारण बढुवा समितिको बैठक बस्न ढिला भएको थियो। कर्मचारी सेवा विनियमावलीअनुसार बढुवा समितिमा डेपुटी गभर्नर संयोजक रहने प्रावधान छ, जसका कारण पद रिक्त हुँदा प्रक्रिया प्रभावित भएको थियो। तथापि, राष्ट्र बैंकले लोक सेवा आयोग र अर्थ मन्त्रालयसँगको समन्वयमा रोकिएका प्रक्रियालाई अघि बढाएको हो।
राष्ट्र बैंकमा बढुवा दुई प्रकारले हुने व्यवस्था छ—कार्यसम्पादन तथा ज्येष्ठताका आधार र आन्तरिक प्रतिस्पर्धामार्फत हुने गरेको छ। आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवा लोक सेवा आयोगले सञ्चालन गर्छ। आयोगले हालै चैत महिनामा विभिन्न पदका लागि परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनको तयारी गरिरहेको छ। यसबाहेक खुला प्रतिस्पर्धाबाट हुने पदपूर्तिका लागि पनि परीक्षा सम्पन्न भइसकेको र नतिजा प्रकाशनको चरणमा रहेको छ।
पौडेलकाअनुसार निर्देशक तहको प्रक्रिया सम्पन्न भइसकेपछि अब उपनिर्देशक (द्वितीय श्रेणी) र सहायक निर्देशक (तृतीय श्रेणी) लगायतका पदहरूमा पनि कार्यसम्पादन मूल्यांकन तथा ज्येष्ठताका आधारमा बढुवा गरिनेछ। “अबको केही दिनभित्रै अन्य तहका बढुवा प्रक्रिया पनि टुङ्गिनेछ,” उनले भने।
बैंकले प्रशासनिक सुदृढीकरण र दक्ष जनशक्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सबै तहमा पदपूर्ति प्रक्रिया अघि बढाइरहेको जनाएको छ। “हामी संस्थाको प्रशासनिक सुदृढीकरणका लागि दक्ष जनशक्तिको पदपूर्तिलाई प्राथमिकता दिइरहेका छौं,” पौडेलले भने, “छिट्टै सबै तहमा नयाँ अनुहार र बढुवा भएका कर्मचारीहरू देखिनेछन्।”
लामो समयपछि बढुवा प्रक्रिया अघि बढेसँगै कर्मचारी वृत्तिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यसले संस्थागत कार्यसम्पादनमा समेत सुधार ल्याउने विश्वास राष्ट्र बैंक व्यवस्थापनले लिएको छ।


