काठमाडौँः माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ।
कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो। निष्काशन गरिएको कुल सेयरमध्ये ८ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रभित्र अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा सेयर बाँडफाँट गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको कोटामध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ। श्रम स्वीकृति प्राप्त नेपालीहरूले सि–आस्बा प्रणाली तथा मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी, सोलुखुम्बुस्थित शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, आस्बा सेवामा सहभागी अन्य बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबी एस क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म खुला रहनेछ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ।


