काठमाडौँः नेपाली बैंकिङ क्षेत्र लामो समयदेखि बढ्दो खराब कर्जा, उच्च ब्याजदर र कमजोर कर्जा मागका कारण दबाबमा रहेको छ। क्षेत्र दबाबमा रहे पनि चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा क्रमशः सुधारको संकेत देखिएको छ।
तेस्रो त्रमाससम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले नौ महिनामा कुल ४९ अर्ब २१ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन्। जुन गत वर्षको सोही अवधिको ४१ अर्ब २५ करोड रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो। यस अवधिमा १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफामा गिरावट आएको देखिन्छ।
नाफा बढ्दो देखिए पनि बैंकहरूको मुख्य चुनौतीका रूपमा खराब कर्जा (एनपीएल) अझै उच्च स्तरमै कायम छ। समग्र वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४.८३ प्रतिशतबाट बढेर ५.२५ प्रतिशत पुगेको छ। जुन नेपाल राष्ट्र बैंकले तोकेको ५ प्रतिशत सीमाभन्दा माथि हो। कुल २० मध्ये ९ बैंकले यो सीमा नाघेका छन्, जसले कर्जा असुलीमा समस्या अझै समाधान नभएको संकेत गर्छ।
उच्च जोखिम समूहमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनआइसी एशिया बैंक अग्रस्थानमा देखिएका छन्। यि बैंकहरुको खराब कर्जा ८.४ प्रतिशतभन्दा माथि पुगेको छ। हिमालयन बैंकको खराब कर्जा ७.९८ प्रतिशत छ भने सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम कमर्सियल बैंक को क्रमशः ६.८२ र ६.३९ प्रतिशत रहेको छ। कुमारी बैंकको ६.९४ प्रतिशत खराब कर्जा पनि उच्च जोखिमकै दायरामा पर्छ।
मध्यम जोखिम समूहमा लक्ष्मी सनराइज बैंक ५.२९ प्रतिशत, कृषि विकास बैंक ५.०६ प्रतिशत, ग्लोबल आईएमई बैंक ४.९७ प्रतिशत, नेपाल बैंकको ४.९६ प्रतिशत, एनएमबी बैंक ४.९५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंक ४.४८ प्रतिशत रहेका छन्।
कम जोखिम समूहमा नबिल बैंक ४.३७ प्रतिशत, माछापुच्छ्रे बैंक ४.०१ प्रतिशत, सानिमा बैंक ३.९९ प्रतिशत, सिद्धार्थ बैंक ३.७१ प्रतिशत रहेका छन्। अझ राम्रो प्रदर्शन गर्ने बैंकहरूमा नेपाल एसबिआई बैंक २.५३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल १.८१ प्रतिशत र एभरेष्ट बैंक ०.६१ प्रतिशतले अग्रस्थानमा छन्।
खराब कर्जा बढेसँगै बैंकहरूले कर्जा नोक्सानीका लागि प्रोभिजन पनि तीव्र रूपमा बढाएका छन्। फागुनसम्म वाणिज्य बैंकहरूले करिब २ खर्ब ९७ अर्ब रुपैयाँ प्रोभिजन छुट्याइसकेका छन्। जुन गत असारको २ खर्ब ४६ अर्ब रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो। यसले कर्जा गुणस्तरमा अझै दबाब रहेको स्पष्ट देखाउँछ।
अर्कोतर्फ, बैंकिङ प्रणालीमा हाल ९ खर्ब रुपैयाँभन्दा बढी तरलता रहेको छ। तरलता पर्याप्त भए पनि कर्जाको माग कमजोर रहनु र प्रवाह भएको कर्जा असुलीमा समस्या देखिनुले बैंकहरू दोहोरो दबाबमा परेका छन्। समग्रमा नाफा सुधारको संकेत देखिए पनि खराब कर्जा नियन्त्रण नै बैंकिङ क्षेत्रका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको देखिन्छ।


