काठमाडौं। चालू आर्थिक वर्षमा मुलुकको कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को आकार बढेर ६६ खर्ब रुपैयाँ पुगेको छ। गत वर्ष ६१ खर्ब ७ अर्ब रुपैयाँ जीडीपी थियो। राष्ट्रिय तथ्यांक कार्यालयले गत वर्ष जीडीपी ६१ खर्ब ९९ अर्ब रुपैयाँ भएको संशोधित अनुमान सार्वजनिक गरेको छ।
गत वर्षको तुलनामा मुलुकको जीडीपी आकार बढ्यो, तर प्रतिव्यक्ति आम्दानी तीन डलर घटेको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उल्लेख छ। गत वर्ष कार्यालयले प्रतिव्यक्ति आम्दानी १५ सय १६ डलर अनुमान थियो। तर, चालू आर्थिक वर्षमा तीन डलर घटेर १५ सय १३ मा झरेको कार्यालयको तथ्यांक छ।
जीडीपी बढेको अवस्थामा प्रतिव्यक्ति आम्दानी घट्नुमा डलरको मूल्यवृद्धि मुख्य कारण रहेको कार्यालयका प्रवत्ता ढुण्डीराज लामिछाने बताउछन्।
नेपाल क्लिक्सँग कुरा गर्दै उनले भने “गत वर्ष एक डलरबराबर १३६ रुपैयाँ थियो। यो वर्ष बढेर एक डलरबराबर १४४ रुपैयाँ पुग्यो। एक दशकको अवधिमा डलरको भाउ धेरै बढेको अहिले नै हो। डलरको मूल्य आठ रुपैयाँ बढेको छ। यसले गर्दा प्रतिव्यक्ति आम्दानीमा केही संकुचन भएको देखिएको हो।” नेपालीमा प्रतिव्यक्ति आम्दानी बढेको छ। तर, डलरमा गणना गर्दा मात्र घटेको देखिएको उनको भनाई छ। औसत १४४ रुपैयाँलाई आधार मान्दा नेपालको अर्थतन्त्रको आकार डलरमा ४५ अर्ब ८३ करोड पुगेको छ।
कार्यालयले यो आर्थिक वर्षको औसत डलरको मूल्य १४४ रुपैयाँ मानेको छ। हाल डलरको भाउ बढेर १५२ रुपैयाँ माथि पुगिसकेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा डलरसँग नेपाली रुपैयाँ ७.२ प्रतिशत अमूल्यन भएको छ। अघिल्लो वर्षको यही अवधिमा नेपाली रुपैयाँ ४.२ प्रतिशतले अवमूल्यन भएको थियो।
भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। एक डलरबराबर ९४.८५ भारु पुगेको छ।
नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु बलियो हुन गएको हो। डलरसँग नेपाली रुपैयाँ बलियो हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ। भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ।
अमेरिकाको भन्सारदर बढाएपछि यसको असर बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित मुलुकहरुमा परेको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरु कमजोर बनेका छन्। विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ।
प्रतिव्यक्ति खर्च आम्दानी बढ्यो
प्रतिव्यक्ति आम्दानीमा कमी आए पनि चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी भने बढेको छ। खर्चयोग्य आम्दानी बढेर दुई हजार ४४ डलर हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमान छ।
आर्थिक वर्ष २०८१०८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १९ सय ९४ डलर रहने संशोधित अनुमान गरिएको छ। रेमिट्यान् आप्रवाह बढेका कारण खर्चयोग्य आम्दानी बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धि भए तापनि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय क्रमशः बढ्नुको कारण विप्रेषणको उच्च प्राप्ति भएको अनुमान रहेको छ।
नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने चरणमा रहे तापनि यसलाई दिगो बनाउने चुनौती छ। आगामी २४ नोभेम्बर २४ मा एलडीसीबाट स्तरोन्नति हुन नेपाल योग्य छ।
संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार नेपालले मानव सम्पत्ति सूचकांक, आर्थिक एवं वातावरणीय जोखिम सूचकांक र प्रतिव्यक्ति आयको न्यूततम मापदण्ड पुरा गरेको छ।
आर्थिक सामथ्र्य र आयस्तर विकासशील राष्ट्रको तहमा नपुगी स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा प्राप्त ड्युटी फ्री र कोटा फ्री जस्ता सहुलियतहरू गुम्ने र सहुलियतपूर्ण वैदेशिक सहयोगमा कमी आउने जोखिम छ।


