काठमाडौँः विभिन्न कम्पनीहरुले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्काशन गर्न थालेका छन्। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) सँग विभिन्न कम्पनीहरूले धमाधम सम्झौता गर्न थालेपछि धितोपत्र बजारमा यस विधिप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिन्छ।
हालसम्म विभिन्न सात कम्पनीहरुले बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्काशनका लागि नेप्सेसँग औपचारिक सम्झौता गरिसकेका छन्।
बुक बिल्डिङ विधिअन्तर्गत सेयर निष्काशन गर्न चाहने कम्पनीले सर्वप्रथम नेप्सेसँग सम्झौता गरी निष्काशन मूल्यको दायरा निर्धारण गर्नुपर्ने हुन्छ। त्यसपछि मात्र संस्थागत लगानीकर्ताबाट मूल्य प्रस्ताव (बिड) संकलन गरी अन्तिम मूल्य निर्धारणको प्रक्रिया अगाडि बढाइन्छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा जारी बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरमा शिलबन्दी बोलपत्र प्रक्रिया सञ्चालन गरिन्छ।
नेप्सेसँग सम्झौता गर्ने कम्पनीहरूमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड, यती ब्रुअरी लिमिटेड, नेपाल चिया विकास निगम लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेड रहेका छन्।
नेप्सेका अनुसार नर्भिक र जगदम्बा स्पिनिङ मिल्सले चैत २२ गते, टाइम फर्मास्युटिकल्सले चैत २४ गते तथा लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युब आयलले वैशाख ३ गते सम्झौता गरेका हुन्। यती ब्रुअरीले यसअघि नै २०८२ कात्तिक ५ गते सम्झौता गरिसकेको थियो भने नेपाल चिया विकास निगमले २०८३ वैशाख ८ गते सम्झौता गरेको हो।
सम्झौता गरेका कम्पनीहरूमध्ये नर्भिक अस्पताल बीएलसी ग्लोबल होल्डिङ्सद्वारा सञ्चालित छ भने जगदम्बा स्पिनिङ र लक्ष्मी स्टील्स शौरभ समूहअन्तर्गतका उद्योग हुन्। टाइम फर्मास्युटिकल्स भने बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने पहिलो औषधी उद्योग बन्ने तयारीमा छ।
कम्पनीहरूले संस्थागत लगानीकर्ताका लागि छुट्याएको सेयरको परिमाण पनि सार्वजनिक गरिएको छ। नर्भिकले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बाले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्सले १८ लाख कित्ता तथा पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता, नेपाल चिया विकास निगमले २ लाख ४० हजार कित्ता र पूर्वाञ्चल ल्युब आयलले ८ लाख ६० हजार कित्ता सेयर छुट्याएका छन्।
नर्भिक इन्टरनेशनल हस्पिटलले बुक बिल्डिङ निर्देशिकाअनुसार प्रारम्भिक विवरणपत्र सार्वजनिक गरी योग्य संस्थागत लगानीकर्ताबाट सुझाव संकलन गरिसकेको छ।
यसैबीच टाइम फर्मास्युटिकल्सले विशेष साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ। कम्पनीले चुक्ता पूँजी ४२ करोड ९१ लाख रुपैयाँबाट बढाएर ४६ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ। उद्योगले कुल जारी पूँजीको २०.६५ प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको छ। सन् १९९४ मा स्थापना भई १९९७ देखि उत्पादन सुरु गरेको टाइममा विभिन्न निजी लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको छ।
त्यस्तै, जगदम्बा स्पिनिङ मिल्सले पनि वैशाख १० गतेको साधारणसभाबाट आईपीओ निष्काशन प्रस्ताव पारित गरेको छ। निर्यातमुखी उद्योगको रूपमा परिचित यस कम्पनीले उत्पादन गरेको करिब ९५ प्रतिशत धागो भारत तथा अन्य मुलुकमा निर्यात हुने गरेको छ। यद्यपि कच्चा पदार्थमा आयात निर्भरता भएकाले अन्तर्राष्ट्रिय बजारको उतारचढावले यसको व्यवसायमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशनले धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको सहभागिता वृद्धि गर्ने अपेक्षा गरिएको छ। हालको व्यवस्थाअनुसार कुल निष्काशित सेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र ६० प्रतिशत सर्वसाधारणलाई छुट्याइन्छ। संस्थागत लगानीकर्ताले कबोल गरेको भन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई आईपीओ उपलब्ध गराउने प्रावधान रहेको छ।
यसै सन्दर्भमा नेप्सेले बुक बिल्डिङ प्रक्रियामा सहभागी हुन इच्छुक संस्थागत लगानीकर्तालाई अनिवार्य रूपमा दर्ता हुन आग्रह गरेको छ। सेबोनबाट स्वीकृत लगानीकर्ताले नेप्सेमा दर्ता गरी मात्र भाग लिन पाउनेछन् भने पुराना लगानीकर्ताले वार्षिक नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ। दर्ता शुल्क १० हजार रुपैयाँ र नवीकरण शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।
यो व्यवस्था लागू भएसँगै बुक बिल्डिङ प्रक्रिया थप व्यवस्थित, पारदर्शी र विश्वसनीय हुने अपेक्षा गरिएको छ। यद्यपि यसअघि सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ मिल्सले यसै विधिबाट आईपीओ निष्काशन गर्दा विभिन्न विवाद उत्पन्न भएका थिए। मूल्यांकन, वित्तीय विवरण तथा पारदर्शितासम्बन्धी प्रश्न उठेपछि लगानीकर्ताबाट तीव्र आलोचना भएको थियो।
सेबोनले २०७६ सालमा उत्पादनमूलक क्षेत्रका कम्पनीलाई सेयर बजारमा आकर्षित गर्ने उद्देश्यले बुक बिल्डिङ विधि लागू गरे पनि हालसम्म सीमित कम्पनीहरूले मात्र यसलाई प्रयोग गरेका छन्। पछिल्ला सुधार प्रयाससँगै अब भने यो विधि प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ।


