काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आज साँझ ५ बजेसम्म उक्त सङ्ख्यामा व्यक्तिगत विवरण (सीभी) पेश भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
अध्यक्ष सिफारिस समितिले वैशाख १५ गते सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिहरूलाई ७ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। आवेदन अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित सचिवालयमा बुझाइएको हो।
यसपटक समितिले आवेदकबाट सीभी र स्वघोषणा फारम मात्र माग गरेको छ, जबकि विगतमा व्यवसायिक कार्ययोजना र प्रस्तुतिकरणसमेत आवश्यक हुने गरेको थियो। प्राप्त आवेदनबाट तीन जनाको नाम सिफारिस गरिने सम्भावना रहेको बताइएको छ।
पुर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठको राजीनामापछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो। नयाँ अध्यक्षले पूर्व अध्यक्षको बाँकी कार्यकाल मात्र सम्हाल्नेछन्।
पूँजी बजारका सरोकारवालाहरू नयाँ नेतृत्वप्रति उच्च अपेक्षा राखिरहेका छन्। विशेषगरी रोकिएका आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने र बजार सुधारका कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा लगानीकर्ताहरूको चासो रहेको छ।


