काठमाडौँः तीन वटै सरकारी स्वामित्वका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल तथा नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्मा रहेका छन्।
उनीहरूले अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका हुन्। राजीनामापछि उनीहरूले नयाँ सरकारलाई सहयोग गर्ने उद्देश्यले पद त्याग गरेको बताएका छन्।
अध्यक्षहरूसँगै सरकारले नियुक्त गरेका तथा अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गरेका केही सञ्चालकहरूले पनि राजीनामा दिएको जनाइएको छ।
सरकारले हालै ल्याएको अध्यादेशले नेपाल राष्ट्र बैंक तथा बैंकका अध्यक्ष–सञ्चालकलाई प्रत्यक्ष रूपमा नछोए पनि सरकारी बैंकमा राजनीतिक नियुक्ति भएका पदाधिकारीलाई राजीनामा दिन अनौपचारिक रूपमा आग्रह गरेको बताइएको छ। सोही आग्रहअनुसार अध्यक्ष तथा सञ्चालकहरूले पदबाट बाहिरिने निर्णय गरेको बताईएको छ।


