काठमाडौँः सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपाली (एनआरएन) को सहभागिता विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
उनले पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा कम्पनी, म्युचुअल फन्ड तथा गैरआवासीय नेपालीको सहभागिता बढाइने बताए। साथै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिने उल्लेख गरे।
राष्ट्रपतिले धितोपत्र नियमन, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने जानकारी पनि दिए।
यस्तै, सरकारले साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने तथा बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गरी किसानको पहुँच सहज बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।


