काठमाडौँः हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले व्यवसाय विस्तार र प्रभावकारी कर्जा असुलीका कारण नाफा तथा कर्जा लगानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।
सार्वजनिक विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले २४ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशतले बढी हो।
यस अवधिमा कम्पनीको कुल कर्जा पोर्टफोलियो ११ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। कम्पनीका अनुसार यो व्यवसायको आकारमा उल्लेखनीय वृद्धि हो। साथै, प्रभावकारी रिकभरी व्यवस्थापनका कारण निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.२२ प्रतिशतबाट घटेर २.९४ प्रतिशतमा झरेको छ।
कर्जा लगानी उल्लेखनीय रूपमा बढाउँदै लैजाँदा पनि सम्पत्ति गुणस्तर सुधार हुनु कम्पनीको वित्तीय व्यवस्थापनको सकारात्मक संकेत भएको कम्पनीले जनाएको छ। कम्पनीले आगामी दिनमा सन्तुलित तथा दिगो व्यवसायिक वृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण तथा सरोकारवालाको दीर्घकालीन हित संरक्षणमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेको छ।


