काठमाडौँ: बाढीबाट क्षतिग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले विभिन्न बैंकहरूबाट झण्डै तीन अर्ब रुपैयाँ अल्पकालिन ऋण लिएको छ।
विकासकर्ता कम्पनी रसुवागढीले अल्पकालिन नगद व्यवस्थापनका साथै बाढीका कारण क्षतिग्रस्त जलविद्युत् केन्द्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि संस्थापक चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, नबिल बैंक र कुमारी बैंकबाट उक्त ऋण लिइएको हो।
जसअनुसार कुमारीबाट दुई अर्ब, नबिलबाट ४९ करोड ८० लाख र संस्थापक चिलिमे जलविद्युत्बाट ३८ करोड १६ लाख गरी कूल दुई अर्ब ८७ करोड ९६ लाख रुपैयाँ ऋण लिएको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। उक्त ऋणको ब्याजदर कुमारीको ५.९९, नबिलको ५.४७ र चिलिमेको सात प्रतिशत रहेको छ।
आयोजना निर्माणका बखत पनि विविध काबुबाहिरको परिस्थिति श्रृजना भई तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा सुरु अनुमानको तुलनामा निर्माण लागत वृद्धि भएको थियो।
रसुवागढी जलविद्युत्को क्षतिको दाबी भुक्तानीमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ढिलाइ
जलविद्युत् केन्द्रबाट व्यापारिक रुपमा विद्युत उत्पादन हुनु अघि २०८१ पुस १५ सम्मको लागतका आधारमा आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसमेत गरी २४ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो। यसबाट आयोजना निर्माण लागतको कर्जा–स्वपुँजी अनुपात सुरुको ५०ः५० प्रतिशतबाट परिवर्तन भई करिव ७१ः२९ प्रतिशत कायम भएको कम्पनीले जनाएको छ।
जलविद्युत् केन्द्रमा हालको बाढीबाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका काम भइरहेको छ। थप सुरक्षणका कामसमेत गर्नुपर्ने अवस्था रहेकाले क्षतिको बीमा दाबी फछ्यौटपश्चात् पनि कम्पनीले थप वित्तीय श्रोतको व्यवस्था गर्दा ऋण रकम वृद्धि हुन गई कर्जा स्वपुँजी अनुपात पुनः परिवर्तन हुने कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ।
रसुवागढी आयोजनाको दोस्रो युनिट पनि चल्यो, ४४ मेगावाट बिजुली उत्पादन
आयोजनाबाट २०८१ पुस १६ देखि व्यापारिक विद्युत उत्पादन सुरु भएको हो। कर्मचारी सञ्चय कोषबाट साँवा १० अर्ब १६ करोड २१ लाख र उक्त अवधिसम्म ऋण रकममा पुँजीकृत भएको ब्याज छ अर्ब २७ करोड ५२ लाख ७९ हजार ७३५ गरी कूल ऋण रकम १६ अर्ब ४३ करोड ७३ लाख ७९ हजार ७३५ रुपैयाँ कायम भएको थियो।
आयोजनाबाट व्यापारिक विद्युत उत्पादनपछि कम्पनीले उक्त ऋण तिर्न सुरु गरी पहिलो किस्ता २०८१ चैतमा सञ्चय कोषलाई ६५ करोड १४ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको थियो। गत चैतसम्मको किस्ता भुक्तानीलाई नियमित गरिएको कम्पनीले जनाएको छ।
रसुवागढी जलविद्युत् आयोजनाको एउटा युनिट मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
गत चैतसम्म सञ्चय कोषलाई तिर्न बाँकी रकम १४ अर्ब ८० करोड ९६ लाख रुपैयाँ रहेको छ। कोषलाई तिर्नुपर्ने ऋणको वार्षिक ब्याजदर चैतमा ८ प्रतिशत थियो। यही वैशाखबाट लागू हुने गरी वार्षिक ब्याजदर ६.७५ प्रतिशत कायम भएको छ।
हिमालयन एभरेष्टले १.३२ अर्ब भुक्तानी दिन बाँकी
बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवागढीलाई २० करोड रुपैयाँ मात्र भुक्तानी गरेको छ। संशोधित बीमा दाबी एक अर्ब ५२ करोड ७६ लाख रुपैयाँ पेश भएको कम्पनीले जनाएको छ।
तिब्बत क्षेत्रको हिमताल फुट्नाले ल्हेन्दे नदीमा अचानक लेदो, गेग्रान तथा ठूलाठूला मुडासहित आएको बाढी नेपाल–चीन सिमाना स्थित रसुवागढी हुँदै आयोजनाको स्रोत नदी भोटेकोसी आइपुग्दा रसुवागढीको बाँधस्थल र जलविद्युत् केन्द्र क्षेत्रमा रहेका अधिकांश सिभिल संरचनाहरूमा व्यापक क्षति पुर्याएको थियो।
यस्तै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणहरूमा समेत ठूलो क्षति भएको छ। कर्मचारी आवास भवनहरू पूर्ण रुपमा क्षति भई जलविद्युत् केन्द्रबाट विद्युत उत्पादन समेत बन्द भएको थियो। पुस १० बाट दोस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु गरिएको छ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन भई यस कम्पनीलाई वार्षिक रुपमा तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी प्राप्त हुने अनुमान रहेको छ। कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ।
एक अर्ब २३ करोड नोक्सानमा
रसुवागढी हाइड्रोपावर चालू आर्थिक वर्षको नौ महिनामा एक अर्ब २३ करोड रुपैयाँ नोक्सानमा रहेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा बिजुली बेचेर कम्पनीले ७७ करोड ७७ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको जनाएको छ। नोक्सानमा गएपछि कम्पनीको प्रतिसेयर आम्दानी १८.१२ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ छ।
