काठमाडौं। ऋण नतिरेपछि सिन्धुपाल्चोकको कोदारी राजमार्गमा रहेको भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडलाई नेपाल बैंकले लिलाम गर्न लागेको छ।
बैंकले कर्जा तिर्न ३५ दिनको अन्तिम ‘अल्टिमेटम’ दिएको छ। बैंकले शुक्रबार सूचना प्रकाशित गरी ३५ दिनभित्र ऋण नतिर ३६ दिनमा लिलामी गर्ने जानकारी दिएको छ। यसअघि २०८२ जेठ २७ मा बैंकले सूचना प्रकाशित गरी ऋण तिर्न समय दिएको थियो।
पहिलो सूचना प्रकाशित भएको एक वर्षपछि रिर्सार्टका सञ्चालकलाई ऋण तिर्न अन्तिम मौक दिएको बैंकले जानकारी दिएको छ। ३५ दिनभित्र ऋण चुक्त नगरे कर्जा सूचना केन्द्रको कालो सूचीमा राखी सम्पत्ति लिलामी गर्ने जानकारी बैंकले दिएको छ। बैंकले आगामी असार ४ गतेसम्म ऋण नतिरे ५ गते लिलाम गरेर ऋण असूल गर्ने जानकारी दिएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी बैंक आफैँले लिलाम बिक्री गर्ने भएको छ। जग्गा खरिद गर्न चाहाने व्यक्ति वा संस्थाले सकार गर्न चाहेको मूल्यमा बोलकबोलमा भाग लिन बैंकले भनेको छ।
लिलाम बढाबढमा सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिले कबोल गरेको रकमको १० प्रतिशत रकम नगदै घरौटी स्वरूप तत्कालै सोही दिन बैंकमा जम्मा गर्नुपर्नेछ।
बोलकबोल स्वीकृत रकममै बैंकले धितो सुरक्षण दिने निर्णय गरेमा त्यसको सूचना दिएको ३५ दिनभित्र कबोल गरेको रकमको बाँको सम्पूर्ण रकम बैंकमा जम्मा गर्नुपर्नेछ।
रिसोर्टले बैंकबाट व्यापारिक आवाधिक र चालूपुँजी कर्जा लिएको थियो। बैंकले रिसोर्टको नाममा मालपोत कार्यालय सिन्धुपाल्चोकमा दर्ता कायम रहेको मार्मिङ १ स्थित कित्ता नम्बर १३६, ५७२, ५७०, १७८ को क्षेत्रफल क्रमशः ४ १ १ १ १९ १२ ३ ० ६ ० ० ० र ५ १ ३ २ रोपनीको जग्गा र घर तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात लिलाम गर्ने बैंकले जनाएको छ।
रिसोर्टले लिएको ऋणको साँवा तथा त्यसको ब्याज नियमित भुक्तानी नगरेपछि अन्तिमपटक मौका दिएको बैंकले जनाएको छ।कर्जा असुलीका लागि पटक–पटक ताकेता, सम्पर्क र पत्राचार गर्दा पनि अनुरोधलाई बेवास्ता गरेको आरोप बैंकको छ।
रिसोर्टका अध्यक्ष चीनबहादुर रानाभाट हुन्। सञ्चालकमा छिरिङ शेर्पा, सुवास प्रधान र समिरकुमार नेपाल रहेका बैंकले जनाएको छ।
भोटेकोसी हेली रिसोर्ट २०७८ सालदेखि सञ्चालित छ। रिसोर्टको क्षमता चारतारेस्तरसम्म बनाउने तयारी थियो।
रिसोर्टको स्तरोन्नतिका साथै विभिन्न रणनीतिक योजना कार्यान्वयनका निम्ति रिसोर्टले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको थियो। नबिलले भोटेकोसी हेलीको साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने उल्लेख थियो।


