एक जना मानिसको परिचय के–के हुनसक्छ? एक सफल व्यापारी? एक परोपकारी समाजसेवी? देशविदेशमा प्रख्यात प्रभावकारी व्यक्तित्व? वा सात समुद्र पारिको देशमा नेपाली कला र संस्कृतिको परेड गराउने अभियन्ता?
अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा बस्ने नारायण श्रेष्ठ यी सबै परिचयका साझा नाम हुन्।
विश्वव्यापीकरणको यस उत्कर्ष समयमा उनी आज नेपालमा भन्दा ज्यादा विदेशी भूमिमा प्रख्यात छन्, त्यसमा पनि अमेरिकामा उनले कमाएको ख्याती प्रशंसनीय छ। उनी भन्छन्, ‘वर्षौँ पहिले म आरएनएसीको जागिरे हुँदा मेरो बोसले भन्नुहुन्थ्यो– ग्लोब घुमाएर जहाँ रोके पनि यो नारायणले नचिनेको मान्छे छैन।’
उनी आफैँ पनि यस कुरामा सहमत छन्। भन्छन्, ‘मान्छे चिन्नुपर्छ, मान्छेको सम्पत्ति नै त्यही हो।’

नारायणलाई बुझ्न आजको कोलोराडोको भव्य महल होइन, सात दशक अगाडिको संखुवासभाको एउटा सानो कोठामा पुग्नुपर्छ, जहाँ एउटा बालक काठको पाटीमा धुलोको अक्षर कोर्दै थियो। त्यो धुलोको अक्षरमा भविष्यको एउटा यस्तो चित्र लुकेको थियो, जसले हजारौँ माइल टाढा अमेरिकाको आकाशमा नेपाली झण्डा फहराउनेवाला थियो।
उनको जन्म सन् १९५१ मा संखुवासभाको खाँदबारीमा भयो। त्यसवेलाको समय, त्यो पनि पहाडी बस्तीमा स्कुल हुने कुरै भएन।
उनका बुवा सूर्यबहादुरको धरानमा खेत थियो। उनी त्यहाँ कृषिकर्मका लागि गैरहन्थे। त्यसैक्रममा धरानमा स्कुल देखे। इस्टमित्रका सन्तानहरूले पढ्ने गरेको थाहा पाए। अनि स्वअध्ययन गरे। कखरा सिके। नेपाली सामान्य लेखपढ सिकेर गाउँ आए। काठको पाटी बनाए। सूर्यबहादुरले त्यही कालोपाटीमा कखरा सिकाए नारायण र गाउँका १५–२० जना बालबालिकालाई जम्मा गरेर। नारायण पाटीमा धुलो पिसेर खनाउँथे, अनि सिन्काले कोरेर कखराले लेख्थे।
तर कखरा मात्रै सिकेर भएन। त्यसलाई बुन्न जान्नुपर्यो। सिलाउन जान्नुपर्यो। बुवाले भ्याउने कुरा थिएन। शिक्षक पाइन्थेन। अनि सूर्यबहादुरले भारतबाट एक जना शिक्षक खोजेर ल्याए। शिक्षकले हिन्दीमै पढाउँथे। सूर्यबहादुर त्यसलाई नेपालीमा उल्था गरेर बुझाउँथे।
तर सधैँ त्यसरी हिन्दी–नेपालीमा उल्था गरेर पढाउन सम्भव थिएन। केही समयपछि सूर्यबहादुरले सहरतिरबाट एक जना नेपाली शिक्षक खोजेर ल्याए। नेपालीमै पढाइ हुन थालेपछि विद्यार्थीको संख्या बढ्दै गयो। सिर्जना विद्यालयको नामले खुलेको त्यो स्कुल अहिले हिमालयन माध्यामिक विद्यालय बनेको छ। १६०० जना विद्यार्थी छन्। सूर्यबहादुरले जिल्लामा शिक्षा फैलाउन महत्वपूर्ण भूमिका खेले। नारायणले आफ्ना बुवाले गरेको उक्त कार्यको सम्मानमा पछि गाउँमा सूर्य माध्यामिक विद्यालय नामले बोर्डिङ स्कुल स्थापना गरिदिए। २३ भवन रहेको उक्त स्कुलमा अहिले १२०० बढी विद्यार्थी छन्। फुटसल र फुटबल खेल मैदान बनेको छ।
‘अहिले त त्यहाँ अमेरिकाबाट टिचर गएको छ, उसको बालबच्चा पनि हाम्रो स्कुलमा पढ्छन्,’ उनी भन्छन्, ‘१९७२ मा तुम्लिङटारमा प्लेन उड्ने भनेपछि त्यहाँ कर्मचारी चाहियो। आवेदन गरेपछि म नै पहिलो कर्मचारी भएर त्यहाँ गएँ। म २० वर्षको थिएँ। एसएलसी मात्रै गरेर आईएसीमा दुईचोटि फेल भएको, पढाइमा चाहिँ त्यती राम्रो होइन म। तर मान्छे चाहिँ बटुल्न सिपालु।’
अमृत साइन्स कलेज र त्रिचन्द्रमा पढ्दै गरेका उनी आईएसी फेल भएपछि तुम्लिङटार इन्चार्ज भएर काम गर्न गाउँ गएका थिए। अँग्रेजी जानेका थिए। त्यहाँ उनको अमेरिकी, ब्रिटिस र जापानिजहरूसँग चिनजान भयो।
एकपटक उनको नाममा चिठ्ठी आयो अमेरिकाबाट। चिठ्ठी पठाउने तिनै व्यक्ति थिए, जसलाई नारायणले तुम्लिङटारमा कर्मचारी हुँदा सहयोग गरेका थिए। तिनै व्यक्तिले नारायणलाई अमेरिका आमन्त्रण गरेका थिए। नारायणले बुवासँग सल्लाह गरे। बुवाले पनि सहमति जनाएपछि १९७७ को मेमा उनी भिसा लिन गए। एम्बेसीले भिसा दिएपछि उनका लागि अमेरिकाको ढोका खुल्यो।
उनी भन्छन्, ‘मैले चिनेका टेक्ससको प्रोफेसर हुनुहुन्थ्यो। नेपाल पुग्नुभएको। नेपाल जाँदा उहाँलाई मैले सहयोग गरेको थियो। उहाँले फोन गरेर बोल्डरमा एक जना साथीको घरमा बस्ने व्यवस्था मिलाइदिनुभयो। ५०० डलर लिएर अमेरिका छिरेको थिएँ। अन्य खर्च भएर २९० डलर मात्रै बाँकी थियो। युनिभर्सिटीमा भर्ना भएँ। प्राइभेटबाट आइए पास गरेको डिग्रीले बीएमा प्रवेश पाएँ। तीन वर्ष मजाले पढेँ, कहिले फेल भइनँ।’
सामान्य काम गर्दै बीए पास गरे। त्यसैक्रममा एकदिन त्यहाँ एउटा वल्ड तिबेत नामको पसल बिक्रीमा रहेको थाहा पाए। त्यो किनेर आफ्नै व्यवसाय गर्ने निष्कर्षमा उनी पुगे।
पसल त किन्ने; तर पैसाको जोहो कसरी गर्ने? भोलिपल्ट उनले आफ्ना एक प्रोफेसरलाई सम्झिए। मासिक एक हजार गरेर तिर्ने सर्तमा ऋण मागे। प्रोफेसरले १५ हजार १०० डलर दिएपछि उनले अमेरिकामा उड्ने आफ्नै पखेटा भेटाए– व्यापारको माध्यमबाट।
उनले त्यहाँ यति समय दिए कि अघिल्लो साहूले ५ महिनामा पनि बेच्न नसकेको जति सामान उनले ३ महिना नपुग्दै बिक्री गरे। त्यसपछि क्रमशः व्यवसाय विस्तार गर्दै गए। बिस्तारै उनले ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी, रेस्टुरेन्ट, माउन्टेन बाइकलगायतको व्यवासयमा हात हाले। ११ वटा रेस्टुरेन्ट, ५ वटा पसल र ५ वटा ग्यास स्टेसन पनि संचालन गरे।

उनी भन्छन्, ‘त्यसपछि त मेरा दिन फिरिगए नि। हाई अल्टिच्युड इन्टरप्राइजेज, सन रिसर्च इन्स्टिच्युट, सन इन्टरनेसनल कलेज, ’हेल्ल्पिङ ह्याण्ड्स हेल्थ एजुकेसनलगायत संस्था सञ्चालन गरेँ। अहिले चाहिँ एउटा मात्रै पसल छ, अरु सबै कोही बेचेँ, कोही कसैलाई दिएँ। अहिले समाजसेवाको कर्ममा सक्रिय छु।’
उनले त्यहाँ पुग्ने नेपालीलाई जागिर लगाउनेदेखि अन्य विभिन्न काममा सहयोग गर्दै आएका छन्। कसैलाई रेस्टुरेन्टबाट, कसैलाई पसलबाट त कसैलाई सोसल वर्कबाट सघाएको अनुभव उनीसँग छ। अहिले त बोल्डरमा संखुवासभाका मानिसहरूको एउटा ठूलो समाज नै छ।
पछिल्लो समय समाजसेवामै रमाएका उनी आगामी दिनमा के गर्ने भन्ने सवालमा भन्छन्, ‘अब बाँकी जीवन खाली नेपाली मात्र नभई जो मेरो अगाडि आएर सहयोग माग्छ, उसलाई सहयोग गर्दै हिँड्ने। उनीहरूको आँखामा आँसु नआओस्, अनुहार हँसिलो बनाएर पठाउन पाऊँ, त्यही मेरो उद्देश्य हो।’
नेपाल डे परेड
बोल्डरमा १९८७ मा बोल्डर सहर र ल्हासा (तिब्बत) को बीच सिस्टर सिटी (भागिनी सम्बन्ध) कायम भयो। त्यो कुरा नारायणले नजिकबाट नियालेका थिए। त्यहाँ उक्त सम्बन्ध स्थापनाको मूल उद्देश्य थियो एउटा सहरदेखि अर्को सहरको सम्बन्ध स्थापना गरेर संस्कृति आदानप्रदान गर्ने, पर्यटन बढाउने र मैत्रीभाव बढाउने।
त्यहाँ आवद्ध भैसकेपछि उनलाई अमेरिका र काठमाडौँको सम्बन्ध जोड्नेगरी काम गर्ने चाहना भयो। तुरुन्तै उनी बोल्डरका मेयर कहाँ पुगेर उनले उक्त प्रस्ताव राखे। मेयर पनि सहमत भएपछि उनले त्यसको तयारी अघि बढाए।
‘नेपाल के हो भनेर चिनाउनलाई केही त गर्नुपर्यो भन्ने भयो। मैले रेस्टुरेन्ट पनि खोलिसकेको थिएँ, पहिलो नेपाली रेस्टुरेन्ट, नारायन्स नेपाल रेस्टुरेन्ट । त्यो खोलिएपछि त्यसको प्रचार हुन थाल्यो,’ उनी भन्छन्, ‘२००१ मा नेपालको प्रेजेन्स यहाँ देखाउनलाई एउटा सहरमा नेपालको झण्डा र अमेरिकाको झण्डा बोकेर नेपाली भेषभूषामा, को–को जाति आएका छौँ सबैलाई बोलाएर परेड गराउने, शान्तिको लागि, मित्रता र शान्तिको लागि भनेर दिमागमा आयो।’
यसका लागि उनले घरमै बोलाएर केही नेपालीहरूसँग सल्लाह गरे। तर केही नेपालीले यस्तो हुनैसक्दैन भनेर विरोध जनाए। ‘२००३ मा एक्लै भए पनि गर्छु भन्ने भयो, हिम्मत त छ यहाँ मलाई सबैले चिन्छन्, रेस्टुरेन्ट खान आउने, मेरो ट्राभल एजेन्सी खोलिसकेको थिएँ, हाइ अल्टिच्युड इन्टरप्राइजेज भनेर यहाँका प्रोफेसरहरूसँग मेरो राम्रो सम्बन्ध थियो। किन डराउने, म गर्छु भनेर म एक्लै मेयरकहाँ गएँ,’ उनले सम्झिए।
मेयरले नै साथ दिएपछि अमेरिकामा पहिलोपटक परेड गराउने काम सम्पन्न भयो। २००४ अप्रिलको तेस्रो आइतबार उक्त कार्यक्रम सम्पन्न भयो।

‘पहिलो वर्ष मेयर नै आए। २०० जना जति थियौँ होला, क्षेत्री, बाहुन, नेवार, मगर, शेर्पा, राई आफ्नै भेषभूषामा। लाइन लगाएर, गाग्री बोक्ने केटीहरू पनि थिए। २.५ माइलबाटो पुलिस लगाएर परिक्रमा गरायौँ,’ उनी सम्झिन्छन्, ‘त्यसपछि स्कुलमा लगेर खानपिन गरायौँ। ब्यान्ड सेल भनेको ओपन थिएटर हो, त्यहाँबाट सुरु भएर त्यहीँ अन्त्य भयो। त्यहाँ कंग्रेसम्यान, सिनेटरको सेक्रेटरी सबै आए।’
तर उनको उद्देश्य नेपाल डे परेड भन्ने मात्रै नभई यसले नेपालको मैत्रीभाव फैलाओस् र पर्यटन बढाओस् भन्ने थियो। तर यसले नेपाल चिनाउन निकै मद्दत गर्यो। उनी भन्छन्, ’बोल्डरमा एउटा पहाड छ, त्यहाँ रक क्लाइम्बरहरू जान्छन्। म त्यहाँ गएर उनीहरूलाई सोध्थेँ, तिमीहरूलाई नेपाल थाहा छ? सबैलाई थाहा थियो। ७० प्रतिशतले मर्नु अघि एक पटक त जान्छु भन्थे । त्यही उद्देश्यले रेस्टुरेन्ट र परेड सुरु गरेको थिएँ।’
अहिले अमेरिकाका धेरै ठाउँमा यो परेड फैलिसकेको छ। न्युयोर्क, टेक्सास, क्यालिफोर्नियामा पनि परेड हुन थालेको छ। नारायण आफ्नो एउटा सपना शाकार भएकोमा हर्ष मनाउँछन्।

यसै कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य अमेरिका पुगेको र अमेरिकी गभर्नर जेरेड पोलिस नेपाल गएको सम्झिन्छन् उनी। वालेन्द्र शाह काठमाडौँको मेयर हुँद पनि यसबारेमा कुराकानी भएको उनले बताए।
‘२०१७ मा विद्या सुन्दर शाक्य यहाँ आएका थिए। सुज्यान जोन्स यहाँको मेयर थिइन्। उनीहरूले साइन गरे। पछि बालेन शाहसँग पनि कुरा भयो। यहाँको गभर्नर जेरेड पोलिसलाई पनि नेपाल लगेर देखाएँ। उनले ५ मिलियन डलर सहयोग गर्ने कुरा गरेका छन्। दुई एकड जग्गा छुट्याइएको छ । त्यहाँ नेपाली रेस्टुरेन्ट, थिएटर, म्युजियम हुनेछ। मेरो वर्षौँको कलेक्सन त्यहाँ राखिनेछ,’ उनले बताए।
आफूले सुरु गरेको सानो अभियान ठूलो भएकोमा उनी खुसी व्यक्त गर्दछन्।
बन्दीपुरको पुनर्जन्म
नारायण श्रेष्ठको जीवनमा एउटा मोड यस्तो आयो, जसले उनलाई व्यवसायीबाट एउटा अभियन्ता बनायो। त्यो थियो— बन्दीपुरको कायापलट। ९० को दशकमा उनी बन्दीपुर जाँदा त्यहाँका बूढापाकाहरूले उनीसँग आश गरेका थिए। उनले त्यहाँ पुग्दा एक वृद्धलाई वचन दिएका थिए— ‘बा, म फर्किन्छु र यो सहरलाई पहिलेको भन्दा राम्रो बनाउँछु।’
वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल त्यसवेला गृहमन्त्री थिए। उनीसँग बन्दीपुर पुग्दा नारायणले जे देखे त्यसले उनको हृदय निमोठियो। पौडेलले त्यहाँको एक स्थानीय अस्पताल देखाएका थिए, जसको अवस्था निकै दयनीय थियो। नारायणले त्यसवेला केही सहयोग गरेर फर्किए।
केही समयपछि उनले बन्दीपुरका स्थानीयका नाममा चिठ्ठी लेखे। संखुवासभाका प्रधानपञ्च, जो अपदस्त भैसकेका थिए, उनीसहित केहीलाई त्यो चिठ्ठी बन्दीपुरमा गएर पढ्न भने। उनीहरूले त्यसै गरे। बन्दीपुरको डाँडामा गएर चिठ्ठी पढे। जसलाई नारायणले फर्किन्छु भनेको थिएँ, ती वृद्धले त्यो सुनेर आँशु नै झारेछन्। ती हर्षका आँशु थिएँ। उनले चिठ्ठीमा के लेखेको थिए—अक्टोबर महिनामा प्रधानमन्त्रीलाई बोकेर त्यो सहरमा घुमाउँछु। र त्यो बाटो, पैदल हिँडेको बाटो डुम्रेदेखि त्यहाँसम्मको बाटो पनि र त्यहाँ हस्पिटल पनि राम्रो बनाइदिन्छु।
नभन्दै अक्टोबरमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लिएर उनी बन्दीपुर पुगे। साथमा थिए रामचन्द्र पौडेल र रामवरण यादव। त्यहाँ पुगेर प्रधानमन्त्री कोइरालाले भाषण गरेको नारायण सम्झिन्छन्– यो एउटा पूर्वमा जन्मेको नेपालीको छोरो, अमेरिका बसेर अमेरिकन भएर पनि तपाईं–हामीलाई माया गरेर फर्केर आएर बन्दीपुर देखाइदियो। एकचोटी घुम्न आउँदाखेरि तपाईं–हामीलाई माया गरेर मलाई बोकेर आउनुभयो। उहाँहरूकै कारण तपाईंहरूलाई नेपाल सरकारबाट हुन्छ भने नेपाल सरकार, होइन भने प्रधानमन्त्रीको कोषबाटै भए पनि पैसा झिकेर डुम्रेदेखि यहाँसम्मको पिच बनाइदिने मेरो वचन भयो।

त्यसपछि बन्दीपुरमा अस्पताललगायत विभिन्न क्षेत्रको सुधारका लागि नारायणले आफ्नो तर्फबाट पहल गरे। खानेपानी, शिक्षालगायत क्षेत्र सुधारका लागि पहल गरे। ‘डाक्टर र नर्स, सबै डेन्टिस्टहरू लगेर १० दिन प्रोग्राम राखेँ क्याम्प गाडेर। टेन्टभरि शेर्पा, कुकहरू… त्यहाँ खाना पकाउने, टेन्टमै खुवाउने, टेन्टमै सुताउने। आफ्नो–आफ्नो टेन्ट हुन्थ्यो,’ नारायणले सम्झिए, ‘स्कुलको दयनीय अवस्था, खानेपानीको दयनीय अवस्था… रुन मन लाग्ने जे गरे पनि। अनि मैले अमेरिकाबाट डाक्टरहरू लाने, विद्यार्थी लाने, टिचर लाने काम गरेँ। उनीहरूलाई त्यो गाउँमा १० दिन–१५ दिन राखेर त्यवापत गाउँलेलाई पैसा दिन्थेँ। स्कुलमा ट्वाइलेट थिएन, ट्वाइलेट… धराधरा ट्वाइलेट, धारा राखिदिएँ। अनि विस्तारै बन्दीपुरले प्रगति गर्न थाल्यो।’
यसरी बन्दीपुरलाई पुनर्जन्म दिन १६ वर्ष आफूले सहयोग गरेको उनले बताए।
त्यतिवेला बन्दीपुरबाट मानिसहरू बसाइँ सरेर अन्यत्रै सर्न थालिसकेकोमा उनीहरूलाई सम्झाइबुझाइ बन्दीपुरमै फर्काएको अनुभव पनि उनीसँग छ। उनी सम्झिन्छन्, ‘चितवन, डुम्रे, दमौली, काठमाडौं लगायत ठाउँ गएका बन्दीपुरेहरूलाई बन्दीपुरमै ल्याएर भेला गर्थेँ। उनीहरू पनि आएर मैले भनेको कुरा सुन्थे। म भन्थेँ– बन्दीपुरमा पहिला लक्ष्मी नाच्थ्यो रे। अब फर्केर आउनुस् यहाँ, म तपाईंहरूलाई डलर नचाइदिन्छु।’
नभन्दै यतिवेला बन्दीपुर आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। बन्दीपुरमा डलर नाच्न थालेको छ।
१० हजारमा नबिक्ने जग्गा आज करोडौँमा बिक्छ। बन्दीपुरको त्यो पुनर्जन्मको कथा सम्झिँदै नारायण भन्छन्– मैले आफूले गरेको बाचा पूरा गरेँ।
(भण्डारी एक दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। हाल अमेरिकाको कोलोराडोमा बस्ने उनी विशेषगरी आर्थिक र सामाजिक विषयवस्तुमा कलम चलाउँछन्।)