गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले नेपालमा गएको विनाशकारी बाढीपछि अमेरिकी संघीय सरकारको सहयोग जुटाउन अमेरिकी मन्त्रीहरु, सिनेटर तथा सांसदहरुलाई अपिल गरेको छ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियो, आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मलिन, सिनेटरहरु तथा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरु लगायत ७० जना भन्दा बढीलाई पत्र पठाइएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले बताए।

एनआरएनए एनसीसी अमेरिकाका प्रमुख संरक्षक सुनील साहको पहलमा संचालित उक्त अभियानले नेपालमा तत्काल मानवीय सहायता र दीर्घकालीन पुनरुत्थानका लागि थप अमेरिकी सहयोग जुटाउन पत्राचार सुरु गरेको हो। कोभिड महामारीको बेला एनसीसी अमेरिकाका अध्यक्ष रहेका सुनील साहले यस्तै अभियान संचालन गरी नेपालका लागि औषधि, उपकरण तथा अन्य सहयोग जुटाएका थिए।

नेपाल—तिब्बत सीमा नजिकैको हिमाली क्षेत्रमा गत भदौ १० (अगस्ट २६) गते गएको भीषण हिमपहिरो र चट्टान खसेपछि लेन्दे खोला, भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको लेदोसहितको बाढीको पृष्ठभूमिमा उक्त अपिल गरिएको हो।

उक्त विपद्का कारण सडक, पुल, जलविद्युत् आयोजनालगायतका महत्त्वपूर्ण पूर्वाधार नष्ट हुनुका साथै जलविद्युत् सुरुङभित्र सयौँ श्रमिकहरू थुनिएका थिए। भदौ २१ (सेप्टेम्बर ७) सम्मको प्रतिवेदन अनुसार १३ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने ७५ जना अमेरिकी नागरिकसहित करिब ५ हजार मानिस अझै बेपत्ता छन्।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहद्वारा हस्ताक्षरित पत्रमा अमेरिकी विदेशमन्त्रीलाई प्रारम्भिक ध्यानाकर्षण गराएकोमा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरु रो खन्ना र जिम पी म्याकगभर्न लगायतलाई धन्यवाद दिइएको छ।

साथै, नेपालको यो गम्भीर सङ्कटप्रति युएसएआइडी, विदेश मन्त्रालय र सम्बन्धित संसदीय समितिहरूको ध्यान आकर्षित गराउन नेतृत्वदायी भूमिकाका लागि अनुरोध पनि गरिएको छ।

नेपाली—अमेरिकी समुदायले स्थानीय तहमा राहत सामग्री सङ्कलन गरिरहेको भए पनि यो विपद्को आकार डायस्पोराको क्षमताभन्दा धेरै ठूलो रहेको संस्थाले स्पष्ट पारेको छ।

अपीलमा खाद्यान्न, आश्रय, खानेपानी र औषधीसहितका आपत्कालीन सामग्रीहरूको द्रुत वितरणस भत्किएका घर, सडक, पुल र ऊर्जा सुविधाहरूको पुनर्निर्माण, हिमनदी, पहिरो र बाढीको जोखिम अनुगमन गर्ने आधुनिक प्रविधिको जडानस स्थानीय आपत्कालीन उद्धार टोलीहरूलाई बलियो बनाउन प्राविधिक सहयोग, उपकरण र तालिम र सङ्कटापन्न हिमाली समुदायहरूका लागि दीर्घकालीन विपद्—जोखिम न्यूनीकरणमा रणनीतिक लगानीका लागि आग्रह गरिएको छ।

एनआरएनए एनसीसी अमेरिकाले वर्तमान मानवीय सङ्कट सम्बोधन गर्न र भविष्यमा हुन सक्ने यस्ता जलवायुजन्य त्रासदीहरू रोक्न नेपाललाई सबल बनाउन अमेरिकी प्राविधिक अनुभव र स्रोत—साधन अत्यन्त महत्त्वपूर्ण हुने कुरामा जोड दिएको छ।