साउथ अस्ट्रेलियाको एडिलेडमा हुने नेपाल फेस्टिभलको मिति र स्थान तय भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद संयोजक थिर गुरूङका अनुसार आगामी २८ नोभेम्बर २०२६ (शनिबार) टोरेन्स परेड ग्राउन्ड, एडिलेडमा नेपाल फेस्टिभल आयोजना गरिने भएको हो।
मिति र स्थान तय भएसॅगै फेस्टिभलको स्थानीयस्तरमा तयारि सुरू भएको गुरूङले बताए। फेस्टभललाई नेपाली समुदायको उत्सवको रूपमा सफळ बनाउन उनले आग्रह गरे। गुरुङले नेपाल महोत्सव सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएकाले यसको तयारीलाई समुदायमै केन्द्रित गरिने जानकारी दिए।
फेस्टिभलमा सांस्कृतिक कार्यक्रम, झॅाकी र स्टलहरूको तयारि भइरहेको एनआरएनए साउथ अस्ट्रेलिया सहसंयोजक गणेश पराजुलीले बताए। फेस्टिभलमा सहभागि हुने समय मिलाउन उनले यहॅा स्थित नेपाली समुदायलाई आग्रह गरेका छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव सुजन अधिकारीले नेपाल महोत्सव सफल बनाउन व्यक्तिगत रूपमा तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को तर्फबाट आवश्यक सहयोग गर्न आफूहरू सधैं तयार रहेको बताए।
एनआरएनए ओशियाना क्षेत्रीय संयोजक रमेश जोशीले नेपाल महोत्सवलाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा मात्र नभई नेपाली कला, संस्कृति, पर्यटन र राष्ट्रिय पहिचानलाई अष्ट्रेलियाको मूलधार समाजसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरे।
यसपटक नेपाल महोत्सव तालिकाभन्दा करिब छ महिना अगाडि आयोजना हुन लागेको हो। साउथ अष्ट्रेलियामा आयोजना हुने नेपाली समुदायका कार्यक्रममध्ये नेपाल महोत्सवलाई सबैभन्दा ठूलो सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ।
आयोजकका अनुसार नेपाल फेस्टिभल २०२६ मा नेपाली कला, संस्कृति, पर्यटन, नेपाली परिकार तथा विविध सांस्कृतिक प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।