काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत बैंक तथा वित्तीय प्रणालीमा तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षामा ब्याजदर करिडोर प्रणालीलाई अझ प्रभावकारी बनाउने उद्देश्यले स्थायी निक्षेप सुविधामा आवश्यक सुधारको तयारी गरिएको उल्लेख छ।
केन्द्रीय बैंकका अनुसार हाल विदेशी विनिमय सञ्चिति सन्तोषजनक अवस्थामा रहेको, मुद्रास्फीति लक्ष्यभित्र सीमित रहेको तथा आर्थिक वृद्धिदर अपेक्षाअनुसार विस्तार हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको हो।
समीक्षामार्फत बैंकदर, ब्याजदर करिडोर, अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्था भने यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व तथा कर्जा प्रवाहलाई सन्तुलित बनाउन आवश्यक उपकरणहरूको प्रभावकारिता बढाउने दिशामा काम गरिरहेको जनाएको छ।


