काठमाडौँः नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको कर्जा गुणस्तर, जोखिम अवस्था र समग्र वित्तीय स्वास्थ्यको विस्तृत समीक्षा सम्पन्न गरेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)अन्तर्गतको ‘एक्सटेन्डेड क्रेडिट फेसिलिटी (ईसीएफ)’ कार्यक्रमअनुसार गरिएको ‘एक्सटेन्सिभ एसेट क्वालिटी रिभ्यु’ मार्फत बैंकिङ क्षेत्रमा लुकेका जोखिम पहिचान गर्ने प्रयास गरिएको हो।
राष्ट्र बैंकले स्वतन्त्र परामर्शदाता बंगलादेशस्थित ‘हाउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स’मार्फत अध्ययन गराएको जनाएको छ।
समीक्षा गरिएका बैंकमा ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक र प्रभु बैंक रहेका छन्।
२०८१ चैत मसान्तको विवरणका आधारमा गरिएको अध्ययनले औसत निष्क्रिय कर्जा (एनपीएल) ७.६ प्रतिशत पुगेको देखाएको छ भने औसत पूँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत कायम रहेको उल्लेख छ।
राष्ट्र बैंकका अनुसार प्रतिवेदनमा औंल्याइएका कमजोरी सुधार गर्न नीतिगत तथा नियामकीय कदम अघि बढाइनेछ। पछिल्लो समय बढ्दो खराब कर्जा, सुस्त अर्थतन्त्र र रियल इस्टेट क्षेत्रमा आएको मन्दीका कारण बैंकिङ क्षेत्रमा जोखिम बढिरहेको अवस्थामा यो अध्ययनलाई महत्वपूर्ण मानिएको छ।


