काठमाडौं। अमेरिकी डलरको भाउ बढेर दिनहुँ नयाँ कीर्तिमानी कायम भएको छ। डलरको भाउ बढेर बिहीबार १५५.२२ रुपैयाँ बिक्रीदर तोकिएको छ। मंगलबार एक डलरबराबर १५४.४६ रुपैयाँ थियो। सोमबार एक डलरबराबर १५३.८० रुपैयाँ बिक्रीदर थियो।
भारतीय रुपैयाँ (भारु) डलरसँग कमजोर बन्दा यसको असर नेपाली रुपैयाँमा परेको हो। निरन्तर कमजोर भएर एक डलरबराबर ९६.६४ भारु पुगेको छ।
नेरुको भारुसँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ।
डलरसँग नेपाली रुपैयाँ कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ। चालू आर्थिक वर्षको चैतसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७.५ प्रतिशत अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.९ प्रतिशत मत्र अवमूल्यन भएको थियो।
यस्तै भारु पनि साढे नौ प्रतिशत कमजोर भएको द इकोनोमिक टाइम्सले जनाएको छ। अमेरिकाले लिएको नीतिका कारण विश्व अर्थतन्त्र हाल कमजोर बनेको छ। अर्थतन्त्र कमजोर बन्दा स्थानीय मुद्राको निरन्तर अवमूल्यन भइरहेको छ।
अमेरिकाको भन्सारदर बढाएपछि यसको असर बेलायत, जर्मनी, जापान, चीन र अष्ट्रेलियालगायत अतिविकशित मुलुकहरुमा परेको छ। डलरसँग भारुका साथै युरो र युआनलगायत विश्वका प्रमुख मुद्राहरु कमजोर बनेका छन्।
भारु निरन्तर कमजोर भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुन नकिन्न, विदेश भ्रमणमा नजान र आयातित वस्तुको खपत घटाउन आग्रह गरेका छन्। उनले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति लिएका छन्।
गत वर्षको जेठसम्म १३६ रुपैयाँ हारहारीमा रहेको डलर इरान र इजरायबीचको युद्धले बलियो बनेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको भाउ बढेर १४१ रुपैयाँसम्म पुगेको थियो।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन, कच्चा तेल र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। यतिबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउने छन्। गत चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशत वृद्धि भई १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशत बढेको थियो।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन्।
यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलरको भाउ बढ्दा आयात गरिने वस्तु महँगो हुन वस्तुको बजार वृद्धि बढ्छ। जान्छ।
गत चालू आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्दै आएको छ। डलरका कारण सरकारलाई ७० अर्ब रुपैयाँ दायित्व थपिएको छ।
नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ। यता नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने र नेपालीको आम्दानी बढेको भन्दै विकास साझेदार विश्व बैंकले ब्याज दोब्बर बढाएको छ।
आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ। विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ।
गत वर्ष ३३ अर्ब रुपैयाँ बढी लाभांशको रुपमा विदेसिएको छ। चालू आर्थिक वर्षको आठ महिनामा साढे १६ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा लाभांशवापत फिर्ता गएको छ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ।


