काठमाडौँः काठमाडौँ मेडिकल कलेज र नेपाल सहकारी पत्रकार समाज बीच स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)बीच बुधबार (जेठ ६ गते) सम्पन्न सम्झौताअनुसार सिजेएनमा आबद्ध सञ्चारकर्मी तथा उनीहरूका परिवारले अस्पतालमा उपचार गर्दा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा पाउने भएका हुन्।
सम्झौताअनुसार सिजेएनका सदस्य तथा उनीहरूका परिवारले उपचारका क्रममा लाग्ने विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट पाउनेछन्। साथै, २०८३ असार ३० गतेसम्मका लागि अस्पतालले विशेष व्यवस्था गर्दै ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएको केएमसीले सिजेएनका सदस्यलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइने जनाएको छ।
सम्झौताअनुसार सामान्य बेड शुल्कमा २५ प्रतिशत तथा क्याबिन सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ। यसैगरी आईसीयू, एचडीयू, सीसीयू, ओटी सेवा शुल्क, ल्याब परीक्षण, सिटी स्क्यान, एमआरआई, एक्स–रे, यूएसजी, डेन्टल एक्स–रे, ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, विभिन्न निदानात्मक परीक्षण तथा फिजियोथेरापी सेवामा पनि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
डेन्टल उपचारअन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिस सेवामा समेत २५ प्रतिशत छुट उपलब्ध गराइने अस्पतालले जनाएको छ। साथै, ईआरसीपी, एमआरसीपी, एन्जियोग्राम, एन्जियोप्लास्टी तथा न्यूरो इन्टरभेन्सन सेवामा पनि २५ प्रतिशत छुट प्रदान गरिने उल्लेख छ।
यद्यपि क्याथ ल्याब सामग्री, स्टेन्ट, गाइड वायर, बेलुनलगायत उपभोग्य सामग्री तथा प्रत्यारोपण सेवामा भने कुनै छुट नहुने सम्झौतामा उल्लेख गरिएको छ।
सेवा लिनका लागि बिरामीले आफ्नो परिचयपत्र, नागरिकता वा आवश्यक कागजात अस्पतालमा पेश गर्नुपर्नेछ। १६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, ज्येष्ठ नागरिक तथा औषधि उपचार कोषअन्तर्गतका सेवाहरू पूर्ण रूपमा उपयोग गरिसकेपछि मात्र सम्झौताअनुसारको थप सुविधा प्रदान गरिने जनाएको छ।
यसैगरी सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध कर्मचारी तथा बिरामीहरूको सुविधाका लागि अस्पतालले छुट्टै काउन्टरको व्यवस्था गरेको जनाएको छ। सम्बन्धित सेवाबाट लाभ लिनका लागि सामाजिक सुरक्षा वा स्वास्थ्य बीमासम्बन्धी परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
सम्झौतापत्रमा केएमसीका तर्फबाट प्रशासनिक प्रबन्धक अर्चना थापा तथा जनसम्पर्क प्रमुख सुधा कट्टेल र सिजेएनका तर्फबाट अध्यक्ष अर्जुन खतिवडा तथा सचिव माधवकुमार खड्काले हस्ताक्षर गरेका छन्।


