काठमाडौां सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै योग्य तथा इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो।
समितिका अनुसार इच्छुक उम्मेदवारले जेठ १९ गतेभित्र अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा बायोडाटा र आवश्यक कागजातसहित आवेदन बुझाउनुपर्नेछ।
अध्यक्ष पदका लागि बीमा, बैंकिङ, अर्थशास्त्र, व्यवस्थापन, कानुन, जनप्रशासन, गणित, तथ्यांकशास्त्र, इन्जिनियरिङ वा वाणिज्यशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ।
उम्मेदवार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी कसुरमा सजाय नपाएको, कालोसूचीमा नरहेको तथा विदेशी स्थायी बसोबास अनुमति नलिएको व्यक्ति मात्रै योग्य हुने सूचनामा उल्लेख छ।


