काठमाडौँ: अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली (एनआरएन)हरूको लगानीमा स्थापना गरिएको राइड-सेयरिङ प्लेटफर्म ‘सेफराइड’ ले नेपालभर आफ्नो सेवा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
सेफराइडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डीबी रावतका अनुसार कम्पनीको पहिलो सेवा दाङ जिल्लाबाट शुभारम्भ गरिनेछ। दाङ आफ्नो जन्मथलो भएकाले आफ्नै गाउँ तथा जिल्लाबाट सेवा सुरु गर्ने उद्देश्यले दाङबाट सेवा प्रारम्भ गर्न लागिएको उनले बताए। प्रारम्भिक चरणमा घोराही, तुलसीपुर, लमही तथा भालुवाङ क्षेत्रमा मोटरसाइकल, अटो, कार तथा साइकल सेवा सञ्चालन गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दाङबाट सेवा सुरु गरेपछि क्रमशः राप्ती अञ्चलका पहाडी जिल्लाहरू हुँदै नेपालका अन्य जिल्लाहरूमा सेवा विस्तार गरिनेछ। काठमाडौं बाहिरका धेरै जिल्लामा सेवा विस्तार गरिसकेपछि मात्र काठमाडौंमा सेवा सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
सेफराइडले छिट्टै आफ्नो मोबाइल एप सार्वजनिक गर्दै नेपालभर सुरक्षित, सस्तो र छिटो राइड-सेयरिङ सेवा प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ। काठमाडौँदेखि कर्णाली लगायतका दुर्गम जिल्लामा पनि प्रविधिमैत्री यातायात सेवा पुर्याउने लक्ष्य कम्पनीले राखेको छ। गाउँ–गाउँसम्म सेवा विस्तार गर्दै नेपाली युवालाई स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको सेफराइडले जनाएको छ। कम्पनीका अनुसार आगामी एक वर्षभित्र करिब एक लाख स्वरोजगार अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। साथै कम्पनीबाट प्राप्त आम्दानी पुनः नेपालमै लगानी गरी देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा स्थानीय सेवा विस्तारमा उपयोग गरिने बताइएको छ।
रावतले विश्वभर रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूले आफ्नै गाउँ–ठाउँको विकासका लागि लगानी गर्ने हो भने नेपालको विकास छिट्टै सम्भव हुने विश्वास व्यक्त गरे। दाङबाट सेफराइडको सेवा सुरु गर्नुको मुख्य उद्देश्य ‘आफ्नो जन्मभूमिको विकासमा योगदान गरौँ’ भन्ने सन्देश दिनु रहेको उनको भनाइ छ। ‘हामी बनाउँछौँ हाम्रो ठाउँ’ भन्ने अभियानअन्तर्गत सेफराइड अघि बढिरहेको कम्पनीले जनाएको छ।
सेफराइडले पठाओ, इनड्राइभ, याङ्गो तथा उबर जस्ता कम्पनीहरूको शैलीभन्दा फरक मोडलमा काम गर्ने दाबी गरेको छ। कम्पनीका अनुसार अन्य विदेशी कम्पनीहरू मुख्य रूपमा नाफा कमाएर पूँजी विदेश लैजाने उद्देश्यमा केन्द्रित भए पनि सेफराइडको प्राथमिकता नेपालमै लगानी, नेपालमै रोजगारी सिर्जना तथा देशको आर्थिक विकासमा योगदान गर्नु रहेको छ।
कम्पनीका संस्थापक रावतले नेपालमा ठूलो लगानी तथा रोजगारी सिर्जना गर्ने योजना भए पनि सरकार सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग आफ्ना योजना प्रस्तुत गर्ने अवसर सहज रूपमा प्राप्त हुन नसकेको गुनासो गरे। सरकारले विश्वभर रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गरे पनि व्यवहारिक रूपमा लगानीकर्ताले अपेक्षित सहकार्य पाउन नसकेको उनको भनाइ छ।
यसैबीच सेफराइडले प्रबन्ध निर्देशक पदका लागि आवेदन खुला गरेको जनाएको छ। इच्छुक उम्मेदवारहरूले सेफराइडको फेसबुक पेजमार्फत आफ्नो जीवनवृत्त (बायोडाटा) सहित निःशुल्क आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। यसका लागि इच्छुक व्यक्तिले इमेल ठेगाना- [email protected] मा आफ्नो बायोडाटा पठाउन सकिनेछ। उम्मेदवारहरूले आफूले अपेक्षा गरेको तलब, भत्ता तथा अन्य सुविधा पनि आवेदनमै खुलाउन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। प्राप्त आवेदनहरूमध्येबाट छोटो सूची तयार गरी अन्तर्वार्ताका लागि बोलाइने बताइएको छ।
सेफराइडमा आधुनिक राइड-सेयरिङ प्लेटफर्ममा आवश्यक पर्ने उन्नत सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ। यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकता दिँदै प्रत्यक्ष यात्रा अनुरोध प्रणाली, जीपीएस मार्गनिर्देशन, आपत्कालीन सहयोग बटन, भाडा पूर्वानुमान प्रणाली, डिजिटल वालेट तथा मोबाइल भुक्तानी सुविधा, बीमा प्रणाली लगायतका सुविधा राखिएको छ।
यसैगरी यात्रा विवरण, सेवा मूल्याङ्कन तथा समीक्षा प्रणाली, ग्राहक सहायता सेवा, चालक बुकिङ प्रणाली, नजिकको सवारी साधन स्वतः पहिचान प्रणाली, कम इन्टरनेटमा पनि चल्ने प्रविधि, डिजिटल नक्सा, राइड-सेयरिङ तथा यात्रु सूचना प्रणाली, यात्रा रद्द कारण निगरानी प्रणाली तथा दूरीमा आधारित भाडा सुरक्षा प्रणाली जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।


