काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएपछि नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २० हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ।
सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटमार्फत सुनको भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत कायम गरेपछि यसको प्रभाव बजार मूल्यमा देखिएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ। यसअघि सरकारले सुनको भन्सार महशुल दोब्बर बढाएर २० प्रतिशत पुर्याएको थियो।
चोरी पैठारी बढेर सरकारले राजस्व गुमाउन थालेपछि घटाएर १० प्रतिशत कायम गरिएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


