काठमाडौँ: विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले सोमबार महरालाई धरौटीमा छाड्न आदेश जारी गराएको हो।
अदालतमा बयानका क्रममा महराले आफूलाई ‘भेपमा सुन तस्करी’ सम्बन्धी घटनाबारे आफूलाई कुनै जानकारी नभएको र नेपाल सरकारलाई कुनै हानी–नोक्सानी नगरेको भन्दै आरोप अस्वीकार गरेका थिए। तर अदालतले अनुसन्धानका क्रममा संकलित प्रमाण, फोन संवाद, उजुरी विवरण तथा अन्य मिसिल कागजातको प्रारम्भिक अध्ययनबाट विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) अनुसार पुर्पक्ष आवश्यक देखिएको निष्कर्ष निकाल्दै थुनाबाहिर राखेर मुद्दाको अनुसन्धान गर्न आदेश जारी गरेको हो।
अख्तियारले महरासहितका प्रतिवादीहरूले मिलेमतोमा भन्सार छली गरी भेपमार्फत करिब ८.४८ किलोग्राम सुन अवैध रूपमा आयात तथा व्यवस्थापन गरेको आरोपमा मुद्दा दायर गरेको थियो।


