काठमाडौं – आमेरिकाविरुद्ध नेपालले बलिङ अट्याकमा सानदार सुरुआत गरेको छ। जिम्बाबेको टागासिंगा स्पोर्टस् क्लबमा टस जितेर पहिले बलिङ रोजेका नेपालका लागि पावर प्ले नसकिँदै करण केसी एक्लैले चार विकेट गिराएका छन्। उनले खेलको दोस्रो ओभरमा नै दुई विकेट लिएका थिए।
त्यस्तै उनले आठौं ओभर र १० औं ओभरमा एक एक विकेट लिएका हुन्। करणले खेलको दोस्रो ओभरको पाँचौ र छैटौं बलमा नै दुई खेलाडीलाई आउट गराए। उनले स्टेभेन टेलरलाई एलबीडब्ल्यु आउट गराएका थिए। त्यस्तै अर्को बलमा उनले तेस्रो नम्बरमा मैदान पसेका सैतेजा मुकामल्लालाई आरिफ शेखको हातबाट क्याचआउट गराएका थिए।
मुकामल्ला गोल्डेन डगआट भएका थिए। यता टेलरले भने ९ बल खेलेर चार रन लिए।
त्यस्तै, करणले तेस्रो विकेटका रुपमा आरोन जेन्सलाई पेवेलियन फर्काएका थिए। नेपालविरुद्ध २२ बल खेलेका आरोन दुई रन जोड्दै डगआउट फर्किए।
नेपालविरुद्ध कमजोर सुरुआत गरेको अमेरिकाले पवर प्ले सकिँदा २३ रन मात्र बनाएको छ। त्यसअघि उसले चौथो विकेट गुमाउँदा १८ रन मात्र थियो। पाँचौ नम्बरमा मैदान छिरेका नोसथुस केन्जीलाई करणले आशिफको हातबाट क्याचआउट गराएका थिए।
कप्तान जोन्सलाई भने भुर्तेलले क्याचआउट गराएका थिए।
नेपालले तीन वर्षअघि अमेरिकालाई ३५ रनमा अलआउट गरेको थियो। सो खेलमा सन्दीप लामिछानेले छ विकेट लिएका थिए। नेपालको एकदिवसीय क्रिकेटको इतिहासमा एकै खेलमा यति धेरै विकेट लिने खेलाडी सन्दीम मात्र हुन्। आज करण त्यो माइलस्टोनको नजिकै पुगेका छन्।


