काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न मंगलबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ। सहभागी संस्थाहरूले बहुब्याजदरमा समेत बहुबोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
यो ५६ दिने निक्षेप संकलन उपकरणअन्तर्गत संकलित रकमको साँवा तथा ब्याज आगामी साउन १३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि राष्ट्र बैंकले पछिल्लो समय नियमित रूपमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम तान्दै आएको छ।


