काठमाडौँः माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
लगानीकर्ताले उक्त आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन्। यस निष्काशनमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको थियो।
कम्पनीले सोलुखुम्बु जिल्लामा रहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ साल साउन महिनादेखि विद्युत उत्पादन गरिरहेको छ।


