काठमाडौँ: इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो। रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदन अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ तथा सन् २०२२ मा ९४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले गत वर्ष १ लाख ९१ हजार ३०२ मेट्रिक टन उखु प्रशोधन गरेको जनाएको छ।
कम्पनीले अघिल्लो वर्ष सन २०२४ मा १ लाख ८५ हजार ५०४ मेट्रिक टन उखु प्रशोधन गरेको थियो। उखु प्रशोधनको मात्रा बढे पनि चिनी उत्पादनमा प्राप्त हुने ‘रिकभरी रेट’ घट्दा कम्पनीको नाफामा असर परेको इक्राको प्रतिवेदनमा उल्लेख छ। कम्पनीका अनुसार कम्पनीको चिनी रिकभरी दर सन् २०२४ को ८.८ प्रतिशतबाट घटेर सन् २०२५ मा ८.३ प्रतिशतमा झरेको छ। उखुको गुणस्तरसम्बन्धी समस्याका कारण रिकभरी दर घट्दा सञ्चालन नाफा मार्जिन (ओपीएम) पनि १५.३ प्रतिशतबाट ९.३ प्रतिशतमा खुम्चिएको छ।
सरकारले आर्थिक वर्ष २०२४÷२५ का लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ निर्धारण गरेको थियो, जुन अघिल्लो वर्ष ५६५ रुपैयाँ थियो। उखुको मूल्य वृद्धि हुँदा उत्पादन लागत बढेर कम्पनीको नाफामा थप दबाब परेको मूल्यांकन गरिएको छ। यस्तै, चालु आर्थिक वर्षका लागि सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ पुर्याएको छ।
अर्कोतर्फ चिनी आयातमा लाग्ने भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झारिएको छ। यसले स्वदेशी चिनी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने तथा नाफा मार्जिन थप कमजोर हुने जोखिम देखिएको छ। कम्पनीले चिनी आयातमा भन्सार शुल्क कटौतीले स्वदेशी उद्योगहरूलाई चुनौती थपेको उल्लेख गरेको छ। यद्यपि भारतले हालै चिनी निर्यातमा लगाएको प्रतिबन्धले नेपाली उद्योगहरूलाई केही समयका लागि राहत दिन सक्ने अपेक्षा गरिएको छ।
कम्पनीको वित्तीय अवस्था भने अझै कमजोर रहेको मूल्यांकन गरिएको छ। विगतका सञ्चित नोक्सानी र ऋणमा आधारित लगानीका कारण कम्पनीको पूँजी संरचना दबाबमा रहेको छ। ऋण सेवा क्षमता सन् २०२४ को १.१ गुणाबाट घटेर सन् २०२५ मा १.० गुणामा झरेको छ भने ब्याज भुक्तानी क्षमता पनि उल्लेख्य रूपमा कमजोर भएको छ। त्यसैगरी कुल ऋण र सञ्चालन नाफाबीचको अनुपात (टीडी/ओपीबिट्डा) ५.३ गुणाबाट बढेर ९.६ गुणामा पुगेको छ। कम्पनीको कार्यशील पूँजी आवश्यकता पनि बढ्दै गएको छ। सञ्चालन आम्दानीको तुलनामा कार्यशील पूँजीको अनुपात ३३ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ।
कम्पनीले कम्पनीको आम्दानी मुख्य रूपमा चिनी बिक्रीमै निर्भर रहेकाले आम्दानी स्रोतको विविधीकरण नहुनु पनि जोखिमको विषय रहेको जनाएको छ। साथै उखु खेती मौसम, वर्षा, रोग–कीरा तथा अन्य कृषि–जलवायुजन्य जोखिममा निर्भर रहने भएकाले चिनी उद्योगको व्यवसाय स्वभावतः चक्रीय र जोखिमयुक्त रहेको उल्लेख गरिएको छ।
इस्टर्न सुगर मिल्स लिमिटेड १९९४ मा स्थापना भएको कम्पनी हो भने यसको व्यावसायिक सञ्चालन सन् १९९६ देखि सुरु भएको हो। कम्पनीको दैनिक उखु प्रशोधन क्षमता २,५०० टन रहेको छ। यसको चिनी उत्पादन उद्योग सुनसरी जिल्लाको अमाहीबेला क्षेत्रमा अवस्थित छ। यो कम्पनी मुख्य रूपमा दुई व्यावसायिक समूह—गोल्छा समूह र विशाल समूहद्वारा प्रवद्र्धित कम्पनी हो। यसबाहेक विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूको पनि कम्पनीमा लगानी रहेको छ।


