काठमाडौँः कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड प्रक्रिया सम्पन्न गरिएको हो।
बाँडफाँड नतिजाअनुसार २ लाख ८७ हजार जना आवेदकले गोलाप्रथामार्फत १०–१० कित्ता शेयर प्राप्त गरेका छन्। कम्पनीको आईपीओमा कुल २८ लाख ६० हजार ७६६ जनाले आवेदन दिएका थिए, जसका कारण अधिकांश आवेदक शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई फागुन २५ गते आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।
कालंगा हाइड्रो लिमिटेडले बझाङ जिल्लामा निर्माण गरेको १५.३३ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजना २०७९ माघ महिनादेखि व्यावसायिक उत्पादनमा रहेको छ।


