काठमाडौं – कीर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार तेस्रो खेलमा पनि हार बेहोरेको छ। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को प्रतियोगितामा नेपालले इरानसँग सोझो सेटमा हार बेहोरेपछि नेपालको हारको शृंखला तीन पुगेको हो।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार इरानसँग नेपालल पहिलो सेटमा २५–१६ को हार बेहोरेको थियो। त्यसको तुलनामा दोस्रो र तेस्रो सेट केही प्रतिस्पर्धात्मक देखिए। नेपालले ३–० को हार बेहोरे पनि अन्तिम दुई सेट भने २५–२२ मा नेपालले हार बेहोरेको थियो।
७ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले छ देशसँग खेल्ने अवसर पाउनेछ। यसअघि नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो।
अब नेपालले चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र पाँचौं खेलमा किर्गिस्तानको दोस्रो टोलीसँग खेल्ने छ


