काठमाडौं। सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेडले ४५४ मेगावाट क्षमताको किमाथांका अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजना अघि बढाएको छ।
कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन(इआइए) प्रतिवेदन तयार पारी स्वीकृतिका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पेश गरेको छ।
मन्त्रालयले स्वीकृतिका लागि सरोकारवालाहरुसँग राय सुझाव माग गरेको छ। राय सुझावपछि मन्त्रालयले आयोजनाको इआइए स्वीकृत गर्नेछ। इआइए स्वीकृत भएपछि आयोजनाको काम अघि बढाउन बाटो खुल्नेछ।
प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजना बनाउन पाँच वर्ष लाग्ने विकासकर्ता कम्पनी विद्युत उत्पादनले जनाएको छ।
संभाव्यता अध्ययनअनुसार अर्धजलासय आयोजनाबाट वार्षिक दुई अर्ब ६६ करोड युनिट बिजुली उत्पादन हुनेछ। सुक्खायाममा आयोजनाबाट एक अर्ब पाँच करोड ११ लाख ३० हजार युनिट बिजुली उत्पादन गर्ने अनुमान छ। यस्तै बर्खा याममा एक अर्ब ८७ करोड ३५ लाख ६० हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ।
आयोजना संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा भौतिक संरचनाहरू रहने भएको छ। प्राप्त प्रतिवेदनअनुसार भोट खोला गाउँपालिका वडा नम्बर २ मा आयोजनाको सम्पूर्ण संरचनाहरू (बाँध, जलाशय, हेडरेस टनेल, भूमिगत विद्युतगृह, टेलरेस सुरुङ्ग, पहुँच सडक) निर्माण हुने भएको छ।
आयोजनाको बाँधदेखि विद्युतगृहसम्मको करिब ८.६ किलोमिटर जल प्रवाह घट्ने अरुण नदीको खण्ड भोट खोला गाउँपालिका वडा नम्बर २ मा नै सीमित हुनेछ। प्रतिदिन ६ घण्टा नदीको पानी थुनेर प्रतिसेकेन्ड १४३.५ घनमिटर पानी उपयोग हुने भएको छ।
आयोजनाको बाँधको उचाइ १४० मिटर हुनेछ। बाँधका कारण सिर्जना हुने २७ सय मिटर लामो जलाशयले करिब ०.३५ वर्ग किलोमिटर क्षेत्रको जमिन डुबानमा पर्नेछ।
बाँधदेखि विद्युतगृहसम्मका विभिन्न स्थानमा अडिट टनेलहरू, हेडरेस टनेल, सर्ज साफ्ट र टेलरेस टनेल जस्ता संरचनाहरू निर्माण गरिने भएको छ।
आयोजनाका संरचना निर्माण गर्न निजी स्वामित्वको करिब ६८.०९ हेक्टर र सरकारी स्वामित्वको करिब १००.६४ हेक्टर मकालु वरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रको वन क्षेत्र करिव ७२.७४ हेक्टर र डिभिजन बनको क्षेत्राधिकारभित्र पर्ने वन क्षेत्र करिब २७.९ हेक्टर गरी कूल १६८.७३ हेक्टर जग्गा आवश्यक पर्ने भएको छ।
निजी क्षेत्रलाई दिने प्रस्ताव विवादित
यसअघि कम्पनीले आयोजना प्रतिस्पर्धाबाट दिन लागेको थियो। आयोजना लगानी साझेदारीमा निजी क्षेत्रमार्फत बनाउन विद्युत उत्पादन कम्पनीले २०८१ मंसिर २३ मा वित्तीय लगानी प्रस्ताव आब्हान गरेको थिया। त्यसबेला स्वपुँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदारी चाहिने व्यवस्था गरिएको थियो।
आयोजना बनाउन स्वदेशी लगानीकर्ता, नेपाली नागरिक मात्र प्रवद्र्धक रहेको कम्पनी र संगठित आयोजनाको स्वपुँजी र ऋण लगानी अनुपात २५ः७५ प्रतिशत हुनुपर्ने र प्रस्तावकले ५१ प्रतिशत सेयर लगानीको प्रस्ताव गर्नुपर्ने व्यवस्था थियो।
त्यसबेला कम्पनीले किमाथांका जलविद्युतका लागि न्यूनतम कबोल मूल्य ९० करोड ८१ लाख ९ हजार रुपैयाँ तोकेको थियो। प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई दिने विद्युत उत्पादन कम्पनीको निर्णय विवादमा परेपछि रोकिएको थियो। अहिले कम्पनी आफैले अघि बढाउँदैछ।
किमाथांका अरुण अर्धजलाशययुक्त आयोजना संखुवासभा उत्तरी क्षेत्र भोटखोला गाउँपालिका नेपाल–चीन सीमानजिक पर्छ। आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनइए इन्जिनियरिङ कम्पनी लिमिटेड रहेको छ।
आयोजनाको विद्युतगृह भूमिगत हुने भएको छ। यस्तै सुरुङबाट ल्याइएको पानीलाई चार वटा टर्वाइनमा खसाली विद्युत उत्पादन गरिने भएको छ। बिजुली उत्पादनपछि सो पानीलाई पुनः अरुणमा छाडिने छ। आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर लामो पहुँचमार्ग बनाउनुपर्ने छ।


