काठमाडौँ: नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आउँदो वर्खामा पाँच अर्ब रुपैयाँ बराबरको बिजुली खेर जाने बताएका छन्। उनले बिजुलीको माग भन्दा बढी उत्पादन भएपछि यस्तो अवस्था आउन लागेको स्पष्ट पारे। ‘यो वर्ष पाँच अर्ब र आगामी वर्ष १५ अर्ब रुपैयाँसम्मको बिजुली खेर जाने अवस्था आएको छ,’ उनले भने।
यो वर्ष एक हजार मेगावाट बिजुली भारतमा निर्यात गरेर पनि उक्त परिमाणको बिजुली खेर जाने अवस्था आएको उनको भनाइ छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले यो चुनैतीपूर्ण कार्यको व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए।
निजी क्षेत्रलाई प्रसारण र व्यापारमा सहभागी गराउनु पर्नेमा उनको जोड रहेको छ। अहिले प्राधिकरणको जोखिम व्यवस्थापन गर्न र विशेषगरी वर्खामा बिजुली कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौती रहेको उनले उनले सुनाए।
दोर्दी करिडोरमा प्रसारण लाइन नबन्दा बिजुली खेर गएको स्वीकार गर्दै उनले निजी क्षेत्रसँग सहकार्यमा प्रसारण लाइन पूर्वाधार निर्माण अघि बढाउन लागेको जानकारी दिए। १५ हजार मेगावाट निर्यातको लक्ष्य निजी क्षेत्रको सहकार्यमा मात्र पुरा हुनेमा उनको जोड रहेको छ।
प्राधिकरण सधै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने र विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा आफु सकारात्मक रहेको बताएका छन्।
‘उत्पादनमा निजी क्षेत्रले पुराएको योगदान एकदमै सराहनीय छ। प्राइभेट सेक्टरलाई पावर ट्रेडिङमा र प्रसारण लाइन निर्माण प्रवेश गराउनु पर्नेमा म स्पष्ट छु,’ उनले भने।
ऊर्जा विकासका लागि अघि बढेको निजी क्षेत्र वनका विभिन्न मुद्दाका कारण अल्झिनुपरेको भन्दै वनका समस्या समाधान गर्न ऊर्जामन्त्रीले पहल गरेर उनीहरुको हौसला बढाउनुपर्ने श्रेष्ठले जोड दिए।


