काठमाडौँ: नेपालको पुँजी बजारको इतिहासमै सबैभन्दा ठूलो र योजनाबद्ध सेयर घोटाला भएको पुष्टि गर्दै सरकारी वकील कार्यालयले ८१ जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को जाहेरीका आधारमा दायर गरिएको यस अभियोगपत्रमा नीतिगत तहमा रहेका प्रतिष्ठित व्यवसायी, बीमा कम्पनीका सञ्चालक र ब्रोकरहरूको मिलेमतोमा अर्बौँ रुपैयाँको चलखेल गरिएको देखिएको छ।
अभियोगपत्रले व्यवसायी दीपक भट्टलाई यस घोटालाको मुख्य योजनाकार (मास्टरमाइन्ड) ठहर गरेको छ। भट्टसँगै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा, प्रतिष्ठित व्यवसायी सुलभ अग्रवाल, रोहित गुप्ता, राजबहादुर शाह, र ऋषिराज मोरलाई मुख्य प्रतिवादी बनाइएको छ।
घोटालामा भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) का अध्यक्ष सन्दीप चाचन अग्रवालको सक्रिय भूमिका देखिएको छ। यस्तै हिमालयन रि-इन्सुरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, र लिबर्टी माइक्रो लाइफजस्ता कम्पनीका तत्कालिन अध्यक्ष र सिइओहरूलाई पनि प्रतिवादी बनाइएको छ।
अभियोगपत्र अनुसार प्रतिवादीहरूले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ र ९८ को बर्खिलाप हुने गरी कसुर गरेका छन्। उनीहरूले मुख्यतया तीनवटा विधि अपनाएर बजार कब्जा गरेका थिए:
सर्कुलर ट्रेडिङ: एउटै समूहका व्यक्ति र संस्थाहरूबीच आपसमा सेयर किनबेच गरेर बजारमा नक्कली कारोबार देखाउने।
कृत्रिम अभाव सिर्जना: ठूलो मात्रामा सेयर होल्ड गरेर बजारमा सेयरको कमी गराउने र मूल्य बढाउने।
मूल्य हेरफेर: झुटा सूचना फैलाएर र एउटै आइपी एड्रेसबाट दर्जनौँ खाता सञ्चालन गरी सेयरको मूल्य अस्वाभाविक रूपमा माथि पुर्याउने।
आइपी एड्रेस कनेक्सन: एउटै कोठाबाट अर्बौँको चलखेल
अनुसन्धानमा सबैभन्दा बलियो प्रमाणको रूपमा आईपी एड्रेसलाई लिइएको छ। सौर्य सिमेन्ट र जगदम्बा स्टिलको नक्सालस्थित कार्यालयबाट एउटै आइपी एड्रेस (`202.166.206.242`) प्रयोग गरी भट्ट, अग्रवाल र विभिन्न बीमा कम्पनीका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) चलाइएको भेटिएको छ। यसले के पुष्टि गर्छ भने, विभिन्न कम्पनीका नाममा भएका अर्बौँका कारोबारहरू वास्तवमा एउटै कोठाबाट एकै समूहले गरिरहेको थियो।
घोटाला मुख्य गरी साना र नयाँ सूचीकृत कम्पनीहरूमा केन्द्रित थियो। नेपाल पुनर्बीमा कम्पनीको मूल्य ७४३ बाट बढाएर १७३१ सम्म पुर्याइएको, एनलगजी इन्स्योरेन्समा पनि सर्कुलर ट्रेडिङमार्फत मूल्य बढाइएको, गार्डियन माइक्रो लाइफ कम्पनीका सर्वसाधारणलाई घाटा खुवाएर आपसमा सेयर किनबेच गरिएको तथा विभिन्न डिबेन्चरहरू (NBLD85, NIMBD90, SBID83, SBLD89) मा पनि व्यापक चलखेल गरिएको अनुसन्धानका क्रममा खुलेको छ।
प्रतिवादीहरूले गरेको यस अवैध कार्यबाट हिमालयन रि-इन्सुरेन्सलाई मात्रै ७२ करोड १४ लाखभन्दा बढी क्षति पुर्याइएको दाबी अभियोगपत्रमा छ। अन्य विभिन्न बीमा कम्पनीहरूलाई गरी कुल १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ हानी नोक्सानी पुर्याएको दाबी गर्दै सोही बराबरको बिगो भराउन माग गरिएको छ।
सरकारी वकीलले सबै प्रतिवादीहरूलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम सजायको माग गरेको छ। जसमा १ वर्षदेखि २ वर्षसम्म कैद, बिगो बराबरको जरिवाना वा कसुरको प्रकृति हेरी ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना र संस्थाहरूलाई भएको अर्बौँको हानी नोक्सानी प्रतिवादीहरूको व्यक्तिगत सम्पत्तिबाट भराउनुपर्ने मागदाबी गरिएको छ।
साथै, सुलभ अग्रवालको हकमा विगतमा कालोबजारी मुद्दामा सजाय पाइसकेको हुनाले मुलुकी अपराध संहिता २०७४ बमोजिम थप सजायको समेत माग गरिएको छ।
ब्रोकर नम्बर ५५ (भृकुटी स्टक) ले कानुन बमोजिम लिनुपर्ने २५% अग्रिम भुक्तानी नलिई भट्ट र अग्रवाल समूहलाई अर्बौँको कारोबार गर्न दिएको भेटिएको छ। ब्रोकरले नक्कली कोलल्याट्रल लोड गरेर बजारमा कृत्रिम माग सिर्जना गर्न सहजकर्ताको काम गरेको अभियोगपत्रमा उल्लेख छ।


