काठमाडौँ: बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २८ दिन अवधिका लागि उक्त रकम उठाउन लागेको हो।
सूचनामार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामा सहभागी हुन आह्वान गरिएको छ। बोलकबोल प्रक्रिया बुधबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट सञ्चालन हुनेछ।
संकलित रकमको मूलधन र त्यसमा लाग्ने ब्याज असार ३१ गते एकमुष्ट फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ।
हालसम्म राष्ट्र बैंकले यस्तै उपकरण प्रयोग गरेर बजारबाट ठूलो परिमाणमा रकम तानेकोमा तीमध्ये करिब ७ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण परिपक्व हुन बाँकी छ।


