काठमाडौँः नेपाल राष्ट्र बैंकले व्यवस्थापन तहमा जिम्मेवारी हेरफेर गर्दै एक कार्यकारी निर्देशकको पदोन्नतिसहित विभिन्न विभागका प्रमुखहरूको सरुवा गरेको छ।
राष्ट्र बैंकका अनुसार निर्देशक पदमा कार्यरत गोविन्दप्रसाद नागिला कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) मा बढुवा भएका छन्। कार्यकारी निर्देशक नरेश शाक्य अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको पदमा नागिलालाई वरिष्ठताका आधारमा पदोन्नति गरिएको हो।
बैंकले नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ बमोजिम सम्भाव्य निर्देशकहरूमध्येबाट नागिलालाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको जनाएको छ।
पदोन्नतिसँगै नागिलालाई मानव संसाधन व्यवस्थापन विभागको प्रमुखको जिम्मेवारी पनि दिइएको छ। यसअघि उक्त विभागको नेतृत्व गरिरहेका गुरुप्रसाद पौडेललाई भने गभर्नरको कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, गभर्नरको कार्यालयमा कार्यरत मुक्तिनाथ सापकोटालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पठाइएको छ। संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका प्रमुख राजनविक्रम थापालाई भने लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले व्यवस्थापन तहको कार्यसम्पादनलाई थप प्रभावकारी र संस्थागत आवश्यकता अनुरूप बनाउन जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।


