काठमाडौँ: दोलखाको तामाकोशी गाउँपालिकाले श्रमिकहरूको सामाजिक सुरक्षालाई मजबुत बनाउन नागरिक लगानी कोषसँग नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्झौता गरेको छ। योजनाअन्तर्गत श्रमिक र गाउँपालिकाले बराबरी योगदान गरी मासिक एक हजार रुपैयाँ बचत हुने व्यवस्था गरिएको छ, जसबाट सहभागीले ६० वर्षपछि पेन्सन सुविधा पाउनेछन्।
बिहीबार सम्पन्न सम्झौतामा कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार गाउँपालिकाको श्रमिक कल्याण कोषमार्फत योजनामा सहभागी श्रमिकका लागि मासिक एक हजार रुपैयाँ बचत गरिनेछ। यसमध्ये गाउँपालिकाले मासिक ५०० रुपैयाँ योगदान गर्नेछ भने सहभागी श्रमिकले पनि ५०० रुपैयाँ जम्मा गर्नेछन्।
नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ अनुसार योजनामा सहभागी श्रमिकले ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्नेछन्। पेन्सन लिइरहेका सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा उनका श्रीमान् वा श्रीमतीले पनि आजीवन पेन्सन पाउने व्यवस्था गरिएको छ। दुवैको मृत्यु भएमा खातामा रहेको बचत रकम नजिकको हकवालालाई उपलब्ध गराइनेछ।
योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा लिन सकिने व्यवस्था समेत गरिएको छ।
गाउँपालिकाले योजनामा सहभागी श्रमिकहरूको विवरण अद्यावधिक राख्नेछ भने नागरिक लगानी कोषले आवश्यक प्रक्रिया तथा व्यवस्थापनमा सहजीकरण गर्ने जनाएको छ।


