काठमाडौँः अमेरिकास्थित वित्तीय संस्था क्रस रिभर बैंकले नेपालको आन्तरिक पूँजीलाई उत्पादनशील लगानीमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणालीसँग जोड्ने सम्भावनाबारे निजी क्षेत्र र बैंकिङ नेतृत्वसँग छलफल थालेको छ।
अमेरिकन च्याम्बर अफ कमर्स नेपाल र क्रस रिभर बैंकको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको होटल म्यारियटमा आयोजित अन्तरक्रियामा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् प्रवर्द्धक, फिनटेक उद्यमी, गैरआवासीय नेपाली र पूर्वराजदूत सहभागी भएका थिए।
छलफलको केन्द्रमा नेपाललाई विश्वका संस्थागत लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाउन आवश्यक वित्तीय पूर्वाधार, लगानीका उपकरण र नीतिगत सुधारका विषय थिए। सहभागीहरूले नेपालमा पूँजीको अभावभन्दा पनि त्यसलाई प्रभावकारी रूपमा परिचालन गर्ने प्रणाली कमजोर रहेको निष्कर्ष निकाले।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालसँग करिब २३ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ। बैंकिङ प्रणालीमा ठूलो मात्रामा निक्षेप रहेको छ भने सञ्चय कोष, पेन्सन कोष र बीमा कम्पनीहरूको ठूलो रकम कम प्रतिफल दिने मुद्दती निक्षेपमै सीमित छ। यति धेरै वित्तीय स्रोत उपलब्ध हुँदाहुँदै पनि अपेक्षाअनुसार प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आकर्षित गर्न नसकिएको विषयमा सहभागीहरूले चिन्ता व्यक्त गरे।
उनीहरूका अनुसार नेपालमा प्रतिबद्ध विदेशी लगानीको करिब ३९ प्रतिशत मात्रै वास्तविक रूपमा भित्रिएको छ। यसले लगानी प्रतिबद्धता र वास्तविक लगानीबीच ठूलो अन्तर रहेको देखाएको उनीहरूको भनाइ थियो।
छलफल चाथम हाउस नियम अन्तर्गत सञ्चालन भएकाले कार्यक्रममा व्यक्त विचारलाई व्यक्ति विशेषसँग जोडेर सार्वजनिक नगरिएको आयोजकले जनाएको छ।
अन्तरक्रियाको नेतृत्व क्रस रिभर बैंकका कार्यकारी उपाध्यक्ष प्रवेश रिजाल र इन्भेस्टमेन्ट बैंकिङ प्रमुख हेनरी पिनेलले गरेका थिए। उनीहरूले नेपालसँग विश्व वित्तीय बजारसँग थप सशक्त रूपमा जोडिने अवसर रहेको उल्लेख गर्दै आवश्यक वित्तीय संरचना विकास, लगानीका नयाँ उपकरण निर्माण र पूँजी परिचालन प्रणाली सुदृढ बनाउन आफ्नो संस्था दीर्घकालीन सहकार्य गर्न इच्छुक रहेको बताएका थिए।
ऊर्जा क्षेत्रमा ठूलो सम्भावना, प्रतिफलमा चुनौती
छलफलमा नेपालको जलविद्युत् क्षेत्रलाई सबैभन्दा बढी सम्भावना बोकेको क्षेत्रका रूपमा हेरिए पनि लगानी प्रतिफल र विनिमय दरको जोखिम विदेशी लगानीकर्ताका लागि चुनौतीपूर्ण रहेको निष्कर्ष निकालियो।
विश्वभर विद्युतीकरण र कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वाधार विस्तारसँगै ऊर्जा माग तीव्र रूपमा बढिरहेका बेला नेपाल भने विद्युत् उत्पादन बढाएर निर्यात क्षमता विस्तार गर्ने अवस्थामा पुगेको सहभागीहरूले बताए।
यद्यपि, जलविद्युत् परियोजनामा सरकारले निर्धारण गरेको १७ प्रतिशत आन्तरिक प्रतिफल ९आईआरआर० विदेशी लगानीकर्ताका लागि अमेरिकी डलरमा करिब ११ प्रतिशतमा सीमित हुने र नेपाली रुपैयाँको अवमूल्यनले वास्तविक प्रतिफल थप घटाउने विषयमा पनि छलफल भएको थियो।
सहभागीहरूको निष्कर्ष थियो—नेपालसँग पर्याप्त बचत, पूँजी र प्राकृतिक स्रोत भए पनि अन्तर्राष्ट्रिय लगानीकर्ताले विश्वास गर्ने वित्तीय संरचना, जोखिम व्यवस्थापन प्रणाली र लगानीकर्तालाई सहज निकास दिने संयन्त्र निर्माण नगरेसम्म ठूलो विदेशी लगानी भित्र्याउन कठिन हुनेछ।


