काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पुँजी बजारका लगानीकर्ताको हित संरक्षणलाई केन्द्रमा राखेर निष्पक्ष र इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारको लोभ, प्रलोभन वा बाह्य प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
उनले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै पुँजी बजारमार्फत आर्थिक वृद्धिलाई टेवा पु¥याउने वातावरण निर्माण गर्न बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने बताए।
“कुनै पनि लोभ वा प्रभावमा नपरी लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्नुहोस्। सरकारबाट आवश्यक सबै सहयोग हुन्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण बनाउनुस्,“ अर्थमन्त्री वाग्लेले भने।
उनले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयनमा लैजान पनि अध्यक्ष भट्टलाई निर्देशन दिए।
अर्थमन्त्री वाग्लेले बजारमा फैलिने आधारहीन हल्लाले विशेषगरी साना लगानीकर्तामा अन्योल र त्रास सिर्जना गर्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्दै बजारमा विश्वास कायम गर्न बोर्डले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए।
“धेरै बोलेर होइन, कामबाट परिणाम देखिनुपर्छ। समयसीमा तोकेर सुधारका योजना कार्यान्वयन गर्नुहोस्। बजारमा विश्वास बढाउँदै नियामकको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुस्। मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन, तर हरेक हप्ता बजारको अवस्थाबारे ब्रिफिङ चाहिन्छ,“ उनले भने।
कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति तथा अर्थमन्त्रीको निर्देशनअनुसार पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षण र बजारको विश्वसनीयता अभिवृद्धिका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो ज्ञान, अनुभव र व्यावसायिक दक्षतालाई पुँजी बजारको विकास तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न उपयोग गर्ने बताए। साथै, पुँजी बजार सुधारका लागि विभिन्न अध्ययन प्रतिवेदनले दिएका सुझाव र सिफारिसहरू क्रमशः कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित र विश्वसनीय बनाउने प्रतिबद्धता पनि जनाए।
डा. भट्टलाई मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।


