काठमाडौं। एक साताअघि क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले वित्तीय अपराधको आरोपमा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको लगानी भएका डेढ दर्जन कम्पनीलाई नकारात्मक सूचिसहित ‘क्रेडिट वाच लिस्ट’ मा राख्यो।
इन्फोमेरिक्सले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले सञ्चालन गरिरहेको हुलास फिनसर्भ लिमिटेडलाई पनि नकरात्मक लिस्टका साथै क्रेडिट वाच लिस्टमा राखेको थियो।
तर, एक सातामै इन्फोमेरिक्सले वित्तीय स्वास्थ्य राम्रो देखाउँदै एकाएक शंकर ग्रुप र गोल्छा ग्रुपका १३ कम्पनीलाई नकारात्मक प्रभावको सम्भावनासहितको रेटिङ निगरानी सूचीबाट हटाएको छ। नकरात्मक सूचीमा राखिएका कम्पनीहरु एक सातामै कसरी राम्रा भए?इन्फोमेरिक्समाथि प्रश्न उठेको छ। हुनत इन्फोमेरिक्स शंकर ग्रुपको सहायक कम्पनी हो।
बाँकी पाँच कम्पनीको विषयमा इन्फोमेरिक्सले खुलाएको छैन्। उसले सामान्य व्यावसायिक प्रक्रियाअनुसार नै कम्पनीहरु चलिरहेको, वित्तीय अवस्थामा कुनै उल्लेखनीय प्रतिकूल परिवर्तन नआएको र समीक्षा मितिसम्म कम्पनीहरुले ऋण भुक्तानीसम्बन्धी दायित्वहरू समयमै पूरा गरिरहेको कारण देखाएर नकरात्मक सूचीबाट हटाएको जानकारी दिएको छ।
यस्तो अवस्था हुँदाहुँदै उसले किन नकरात्मक सूचीमा राख्यो त? भन्ने प्रश्न उठेको छ। इन्फोमेरिक्स नेपालले माथि उल्लेख गरिएका कुराहरूको पुष्टि गर्ने व्यवस्थापन प्रमाणपत्र प्राप्त गरेको जनाएको छ।
दीपक भट्ट, सुलभ र शेखर गोल्छाका डेढ दर्जन कम्पनी नकारात्मक सूचीसहित ‘क्रेडिट वाच’मा
इन्फोमेरिक्सले कम्पनीको सञ्चालन तथा वित्तीय कार्यसम्पादन र ऋण भुक्तानी क्षमताको निरन्तर निगरानी गर्ने र भविष्यमा यी पक्षहरूमा आउने कुनै पनि उल्लेखनीय परिवर्तन वा यसको क्रेडिट जोखिम प्रोफाइलमा प्रभाव पार्न सक्ने कुनै पनि घटनाक्रमहरू रेटिङसम्बन्धी मुख्य संवेदनशील कारकहरू रहने भनेको छ। इन्फोमेरिक्स शंकर ग्रुपअन्तर्गगतको कम्पनी हो। कानुनत आफ्ने ग्रुपभित्र कम्पनीहरुको रेटिङ गन मिल्दैन। तर इन्फोमेरिक्सले कानुन उलंघन गर्दै रेटिङ गरिरहेको छ।
इन्फोमेरिक्सले शंकर ग्रुपअन्तर्गतको टेली डाइरेक्ट प्रालि, लिटमस्ट इन्डष्ट्रिज लिमिटेड, रिद्धिसिद्धी सिमेन्ट लिमिटेड, जगदम्बा स्टिल लिमिटेड र जगदम्बा मोटर प्रालिलाई नकरात्मक सूचीबाट हटाएको छ।
यस्तै जगदम्बा मोबाइल प्रालि, जगदम्बा हायर पर्चेज लिमिटेड, जगदम्बा अटो ग्रुप प्रालि, टेलिटक प्रालि, रामजानकी हाइड्रोपावर प्रालि, जगदम्बा हस्पिटालिटी ग्रुप प्रालि (हिल्टन होटल) र गणपति वनस्पति लिमिटेडलाई नकरात्मक सूचीबाट हटाएको छ। यस्तै शेखर गोल्छाको स्वामित्वमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडलाई पनि उक्त सूचीबाट हटाएको छ।
जगदम्बा स्टिल र रिद्धिसिद्धि सिमेन्टले साधारण प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। जगदम्बा स्टिलले प्रिमियमसहित प्रतिकित्ता ३०० र रिद्धिसिद्धि सिमेन्टले २४६ रुपैयाँमा आईपीओ निष्कासनको प्रस्ताव गरेका छन्।
यसैगरि, सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, हिमालयन इन्भेष्टमेन्ट बैंकर्स लिमिटेड, जगदम्बा फ्लोर एन्ड एग्रो प्रालि र विदानश्री इन्फ्रास्ट्रक्चर लिमिटेडका बारेमा खुलाएको छैन्।
त्यसबेला इन्फोमेरिक्सले मूल्यांकन गरिएका धेरै कम्पनीहरूका प्रवद्र्धक तथा निर्देशकहरूमाथि चलिरहेको अनुसन्धान र सम्बन्धित गिरफ्तारीबाट प्रत्यक्ष रूपमा कम्पनीहरु प्रभावित भएको जनाएको थियो।
जसको परिणामस्वरूप विभिन्न व्यावसायिक समूहका भट्ट, अग्रवाल र गोल्छालगायत प्रमुख व्यक्तिहरूलाई प्रतिवादीको रूपमा नाम दिइएको छ। यी संस्थाहरूको सम्भावित वित्तीय, सञ्चालन र प्रतिष्ठात्मक प्रभावहरूको बारेमा आरोपहरू र अनिश्चिततालाई ध्यानमा राख्दै डेड दर्जन कम्पनीको मूल्यांकनलाई नकारात्मक प्रभावहरूसहित क्रेडिट वाचमा राखेको जानकारी इन्फोमेरिक्सले दिएको थियो।
एक दर्जन कम्पनीको ऋण ८५ अर्ब ६२ करोड माथि
शंकर ग्रुपअन्तर्गतका एक दर्जन कम्पनीहरुले ८५ अर्ब ६२ करोड १० लाख रुपैयाँ बढी ऋणको रेटिङ गराएको छ। जसमा सबैभन्दा बढी जगदम्बा स्टिल ३३ अर्ब १५ करोड रुपैयाँ बढी छ।
यस्तै टेलिडाइरेक्टको दुई अर्ब ५० करोड, लिटमसको आठ अर्ब ६७ करोड, रिद्धिसिद्धि सिमेन्टको ११ अर्ब ९३ करोड, जगदम्बा मोटरको पाँच अर्ब ९७ करोड ९० लाख, जगदम्बा हायर पर्चेजको एक अर्ब ७२ करोड र जगदम्बा अटोको एक अर्ब ९१ करोड रुपैयाँ छ।
यस्तै टेलिटकको ८१ करोड ५० लाख, रामजानकी हाइड्रोपावरको पाँच अर्ब २५ करोड, जगदम्बा हस्पिटालिटीको पाँच अर्ब ३० करोड र गणपति वनस्पतिको सात अर्ब ४८ करोड रुपैयाँ ऋण रहेको इन्फोमेरिक्सले जनाएको छ। हुलास फिनसर्भको ऋण भने छैन्।


