काठमाडौं। बैकिङ विज्ञ अलनराज भट्टराईले बैकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह गर्ने क्षमता हुँदाहुँदै पनि निजी क्षेत्रबाट कर्जाको माग नबढ्नु अहिलेको अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन्।
उनले मौद्रिक नीतिले ब्याजदर घटाउने वा बढाउनेभन्दा पनि बैकिङ क्षेत्रका संरचनात्मक समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा उनले मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतको हाराहारीमा रहेको बेला बैकिङ क्षेत्रको निष्क्रिय कर्जा ४.३६ प्रतिशत पुगेको बताए।
उनका अनुसार जुन विगतमा सर्वमान्य स्तरभन्दा माथि हो। यद्यपि विदेशी मुद्रा सञ्चिति र विप्रेषण सन्तोषजनक अवस्थामा रहे पनि निजी क्षेत्रतर्फ कर्जा विस्तार ५.७ प्रतिशतमा सीमित रहनुले अर्थतन्त्रमा माग कमजोर भएको संकेत गरेको उनको भनाइ थियो।
भट्टराईले बैंकहरुमा ८० खर्ब रुपैयाँबराबरको तरलता रहेको, करिब ६० खर्ब रुपैयाँ कर्जा प्रवाह भइसकेको छ। कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ प्रतिशतमा कायम रहे पनि लगानीयोग्य स्रोत प्रयोग हुन नसकेको उल्लेख गरे। उनका अनुसार न्यून ब्याजदर, स्थिर निक्षेप र पर्याप्त ऋण दिने क्षमता हुँदाहुँदै पनि निजी क्षेत्रबाट लगानीको माग नबढेकाले बैकिङ प्रणालीमा अतिरिक्त तरलताले नै चुनौती सिर्जना गरेको छ।
उनले बैकिङ क्षेत्रको अर्को चुनौती ‘एसेट–लायबिलिटी मिसम्याच र रिप्राइसिङ’ जोखिम बढ्दै जानु रहेको बताए। छोटो अवधिका निक्षेपका आधारमा दीर्घकालीन कर्जा प्रवाह भइरहेकाले संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ।


