काठमाडौँः नेपाल राष्ट्र बैंकले आज १ वर्ष अवधिको २५ अर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्न लागेको छ। उक्त ऋणपत्र बोलकबोल (अक्सन) प्रक्रियामार्फत निष्कासन गरिनेछ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुनेछ भने यसको साँवा २०८४ असार १९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। ब्याज भने अर्धवार्षिक रूपमा लगानीकर्तालाई उपलब्ध गराइनेछ।
बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी, आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। एउटै सहभागीले विभिन्न ब्याजदर उल्लेख गरी बहुब्याजदरमा समेत बोलकबोल गर्न पाउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार बोलकबोलबाट प्राप्त प्रस्तावहरूलाई कम ब्याजदरदेखि बढी ब्याजदरको क्रममा मूल्याङ्कन गरिनेछ। आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्म पुग्ने बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। त्यसपछि सोही दर वा सोभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने सहभागीलाई उक्त एकल ब्याजदरमै ऋणपत्र बिक्री गरिनेछ।
यदि एउटै ब्याजदरमा परेको मागले निष्कासित रकम नाघेमा, त्यस ब्याजदरमा आवेदन दिएका सबै सहभागीबीच समानुपातिक आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
