काठमाडौं: नेपालका चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशत बराबरको सेयर आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो।
आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदन गर्न कम्पनीले साउन १ गते विशेष साधारण सभा बोलाएको छ। कम्पनीका अनुसार सभा काठमाडौंको बत्तीसपुतलीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ। सभाले आईपीओ निष्कासनसँग सम्बन्धित आवश्यक प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावमाथि पनि निर्णय गर्नेछ।
यसअघि गत असोज २ गते सम्पन्न वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको थियो। त्यसअनुसार कम्पनीले आवश्यक तयारी अघि बढाउँदै क्रेडिट रेटिङसमेत गराइसकेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP BBB (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमता मध्यम स्तरको रहेको संकेत गर्छ।
हाल कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ तथा जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ। यसमध्ये संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ।
करिब ४९ वर्षअघि काठमाडौंको सिनामंगलबाट सञ्चालन सुरु गरेको बाजेको सेकुवाले हाल नेपाल तथा विदेशमा गरी २९ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको छ। परम्परागत नेपाली परिकार र सेकुवाका लागि परिचित कम्पनीले २०० भन्दा बढी परिकार ग्राहकलाई उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनी २०६६ कात्तिक २३ गते प्राइभेट लिमिटेडका रूपमा दर्ता भएको थियो भने २०८२ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले वृद्धि भई ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ। आउटलेट विस्तार, ब्रान्ड विस्तार तथा रेष्टुरेन्ट सेवाप्रतिको बढ्दो ग्राहक आकर्षणका कारण आम्दानीमा सुधार आएको कम्पनीको दाबी छ।
