काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई नियामकीय गुणस्तर सुधार गर्दै पूँजीबजारलाई विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउने दिशामा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिएका छन्।
सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका क्रममा अर्थमन्त्री वाग्लेले बोर्ड नेतृत्वसँग छलफल गर्दै उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ पूँजीबजार सुधारका कार्यक्रम अघि बढाउन आग्रह गरे। उनले नयाँ नेतृत्व आएपछि बोर्डले दीर्घकालीन सोचका साथ काम अघि बढाएको र त्यसको सकारात्मक संकेत बजारमा देखिन थालेको उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्डको भूमिका नेपाल राष्ट्र बैंकजत्तिकै संवेदनशील र जिम्मेवार रहेको उल्लेख गर्दै लगानीकर्ताको सम्पत्तिको सुरक्षा तथा बजारमा विश्वास कायम राख्नु बोर्डको पहिलो दायित्व भएको बताए। उनले कुनै दबाब वा प्रभावमा नपरी निष्पक्ष नियमन गर्न बोर्डलाई सुझाव दिए।
उनले नयाँ सरकार गठनसँगै पूँजीबजारप्रति लगानीकर्ताको अपेक्षा बढेको भन्दै नयाँ नीति तथा कानुन निर्माण गर्दा सबै सरोकारवालासँग व्यापक परामर्श गरी साझा सहमतिका आधारमा कार्यान्वयन गर्न निर्देशन दिए। साथै, बजारका सबै हिस्सेदारसँग निरन्तर संवाद गर्दै उनीहरूको जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।
बोर्डका अध्यक्ष डा. गोपाल भट्टले सार्वजनिक रूपमा व्यक्त गरेको ‘नेपालको सेयर बजारलाई एसियाकै दोस्रो उत्कृष्ट र प्रतिस्पर्धी बजार बनाउने’लक्ष्यप्रति आफू सकारात्मक रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले त्यसको प्रत्यक्ष कार्यान्वयन देख्न चाहेको बताए।
‘तपाईंले घोषणा गर्नुभएको लक्ष्य व्यवहारमा उतारिएको देख्न चाहन्छु। सबै सरोकारवालालाई साथमा लिएर अघि बढ्नुहोस्। लगानीकर्ताको हित र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुहोस्। आवश्यक सहयोगका लागि सरकार र अर्थ मन्त्रालय सधैं तयार छ,’ उनले भने।
कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार विकासका लागि विस्तृत ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनका अनुसार चालु साउन महिनाभित्रै प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित आईपीओ निष्कासन, इन्ट्रा-डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिकाको मस्यौदा तयार गरिनेछ।
उनले भदौ महिनादेखि सम्बन्धित सरोकारवालासँग परामर्श गरी ती व्यवस्थाहरू चरणबद्ध रूपमा लागू गर्ने तयारी रहेको पनि बताए।


