काठमाडौँः नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति सेवाग्राहीको सन्तुष्टि मापन गर्न पहिलोपटक ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ सञ्चालन गर्ने भएको छ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार सर्वेक्षण देशका सबै ७७ जिल्लामा सञ्चालन हुनेछ। सर्वेक्षणका लागि गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाबाट र्यान्डम स्याम्पलिङ विधिबाट वडा छनोट गरिनेछ। त्यसपछि छनोट भएका वडाभित्र सिस्टेमेटिक र्यान्डम स्याम्पलिङ विधिमार्फत उत्तरदाता चयन गरिनेछ।
उनका अनुसार मतदाता नामावलीमा समावेश भएका व्यक्तिहरूलाई आधार बनाएर तथा बाक्लो बस्ती भएका क्षेत्रमा समेत नमुना छनोट गरी १० हजार ४०५ जना उत्तरदाताबाट तथ्यांक संकलन गरिनेछ।
सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवाको गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको धारणा र अनुभवबारे जानकारी संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय सेवालाई थप प्रभावकारी, गुणस्तरीय तथा सेवामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत व्यवस्था समीक्षा, सुधार तथा भावी नीति निर्माणका लागि पनि सर्वेक्षणको प्रतिवेदन उपयोगी हुने विश्वास गरिएको छ।
